राजकुमार ह्यारी दम्पत्तीद्वारा राजपरिवारबाट बाहिरिने घोषणा

  • | बिहीबार, २४ पुष, २०७६
  • | 7 months ago


एजेन्सी । ब्रिटेनका राजकुमार ह्यारी दम्पत्तीले राजपरिवारको विशेष जिम्मेवारी त्याग्ने घोषणा गरेका छन् ।
ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका हुन् ।

 

उनीहरूले एउटा विज्ञप्ति प्रकाशित गर्दै यूके र उत्तर अमेरिका दुवैतिर समय व्यतीत गर्ने जनाएका छन् । बीबीसीले जनाए अनुसार उनीहरूले महारानी एलिजावेथ वा राजकुमार विलियम कसैसँग पनि परामर्श नगरेको र बकिङ्गम प्यालेस त्यसबाट ‘निराश’ छाएको छ ।

 

राजपरिवारका वरिष्ठ सदस्यहरू ह्यारी दम्पतीको घोषणाबाट ‘आहत’ भएको बुझिएको छ ।
गत अक्टोबर राजकुमार ह्यारी र मेगनले सञ्चारमाध्यमले आफूहरूबारे अनावश्यक चासो राखेकाले त्यसबाट जोगिन आफूले संघर्ष गर्नुपरेको बताएका थिए ।

 

 

बुधबार अप्रत्याशित रूपमा निकालिएको विज्ञप्तिमा आफूहरूले धेरै महिना सोचविचार र छलफल गरेर उक्त निर्णय गरेको उल्लेख गरेका छन् ।
उनीहरूले उक्त विज्ञप्ति सामाजिक सञ्जाल इन्स्टाग्राममा पनि राखेका छन् ।

 

‘हामी राजपरिवारका ’वरिष्ठ’ सदस्यको भूमिका त्याग्न र आर्थिक रूपमा स्वतन्त्र हुन काम गर्न चाहन्छौँ । यद्यपि हामी महारानीलाई निरन्तर पूर्ण समर्थन गरिरहनेछौँ ।’
महारानी, कमनवेल्थ र आफू संरक्षक भएका संस्थासँग सम्बन्धित कर्तव्य निर्वाह गर्दै यूके र उत्तर अमेरिकामा समय व्यतीत गर्ने आफ्नो योजना भएको उनीहरूले बताएका छन् ।