कांग्रेसले भन्यो, ‘मिडिया काउन्सिल विधेयक फिर्ता लैजानुस्’

  • | मंगलबार, ३१ बैशाख, २०७६
  • | 5 days ago


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने मनसायका साथ सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक ल्याएको भन्दै आपत्ती जनाएको छ ।

 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सिद्धान्तमा मौलिक अधिकार प्रत्याभुति गर्छु भन्ने सरकारले विधेयक ल्याउँदा मौलिक अधिकारलाई कुण्ठित गरेको बताए ।

 

उनले संविधानको प्रावधान विपरित सरकारले मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै आरोप लगाए । संविधानको धारा १७ को १ क मा विचार, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता र संचारको हक पनि राखिएको उल्लेख गर्दे उनले सरकार सो प्रावधान विपरित गएको बताए ।

 

सरकारले ल्याएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र बैचारिक स्वतन्त्रता कुण्ठित पार्छ,’ उनले भने, ‘त्यसैले यो फर्काएर लैजानुहोस् भन्ने हाम्रो आग्रह छ ।’ मानवअधिकारको स्वायक्तता र स्वतन्त्रता खण्डित गर्ने खालको मानवअधिकार विधेयकलाई पनि फिर्ता लैजान उनले आग्रह गरे ।

 

कांग्रेसका सांसद प्रदीप गिरीले वृद्धि दर र उच्च समानता तथा सामाजिक न्याय सँगसँगै जान नसक्ने भन्दै सरकारलाई प्राथमिकतामा स्पष्ट हुन आग्रह गरे ।
अर्थशास्त्रीय सिद्धान्त र बहसभन्दा पनि मुलुकको अवस्था अनुसारको सिद्धान्त र प्राथमिकता निर्धारणमा ध्यान पुर्याउनुपर्ने उनको जोड छ ।
आर्थिक वृद्धिदर र सामाजिक न्यायमा एउटालाई प्राथमिकतामा राखेर कार्यक्रमहरु अघि बढाउन सुझाव गिरीले सुझाव दिए ।

 

नेकपाका सांसद अग्निप्रसाद सापकोटाले सैद्धान्तिक र दिशानिर्देश गर्ने किसिमको वस्तुवादी ढंगले प्राथमिकता र सिद्धान्त निर्धारण भएको बताए ।
सम्मृद्धिको बाधक नै भ्रष्टाचार भएको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि राज्यसंयन्त्रमा आमूल परिर्वतनको खाँचो रहेको बताए ।