आज कुकुर तिहार, नरक चतुर्दशी मनाईंदै

  • | बुधबार, १ कार्तिक, २०७४
  • | 3 years ago

काठमाडौं, कात्तिक १ । तिहारको दोस्रो दिन बुधबार घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदैछ ।

 

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए ।


वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ ।


नरक चतुर्दशी


बुधबार बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरके नुहाउने विधिसमेत रहेको गौतमले बताए। यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।


यमपञ्चक अर्थात तिहारका पाँचै दिन बेलुका घर–घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ । तिहारका पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ ।