तिहार शुरु

  • | शुक्रबार, ८ कार्तिक, २०७६
  • | 1 year ago


काठमाडौं । हिन्दूधर्मालम्बीहरूको दोस्रो ठूलो पर्व तिहार शुक्रबारदेखि शुरु भएको छ । तिहार शुरु भए पनि कागपूजा भने शनिबार मात्र गरिँदैछ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने तिहार अर्थात् यमपञ्चकको पहिलो दिन शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

 

यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि शनिबार नै परेको छ । तिथिको घटबढका कारण यस्तो भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
कात्तिक १० गते आइतबार बिहान नरक स्नानसहित कुकुर पूजा र र बेलुकी लक्ष्मीपूजा गर्न समितिले सुझाएको छ ।
गाई, गोरु र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । यो पूजा यस वर्ष कात्तिक ११ गते परेको छ । ११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्न पञ्चांग निर्णायक समितिले सुझाएको छ ।

 

कात्तिक १२ गते मंगलबार तिहारको मुख्य दिन भाइटीका परेको छ । बिहान ११ः५५ बजे भाइटीकाको उत्तम साइत परेको छ । मंगलबार दिनभर टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ ।

 

 

कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल संवत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको हो ।

 

भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिले भनाइ छ ।