सर्वोच्चले भन्यो, ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि तत्काल रुख नकाट्नुस्’

  • | सोमबार, ७ पुष, २०७६
  • | 1 year ago


काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि तत्काल रुख नकाट्न अन्तरिम आदेश दिएको छ ।

 

 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलासले आइतबार बारामा निर्माण हुन लागेको विमानस्थलका लागि रुख नकाट्न अन्तरिम आदेश जारी गरेको हो ।

 

यसअघि सर्वोच्च अदालतले गएको मंसिर २० गते रुख काट्ने कामलाई यथास्थितिमा राख्न आदेश थिएको थियो । त्यही विषयमा दुवै पक्षलाई आइतबार छलफलका लागि बोलाएको थियो । निजगढ वन संरक्षण समितितर्फबाट पूर्वसचिव द्वारिकानाथ ढुङ्गेल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी र भरत बस्नेतलगायत संयुक्त रुपमा दायर गरेको रिट निवेदनमाथिको सुनुवाइ गर्दै विमानस्थल निर्माणसम्बन्धी दुवै निवेदनलाई एकै ठाउँमा राखेर हेर्ने आदेश भएको छ ।

यसअघि पनि सर्वोच्च अदालतमा विमानस्थल निर्माणका लागि रुख काट्न लागेको भन्दै त्यसको विरुद्धमा रिट दायर गरिएको थियो । गएको कात्तिक २५ गते न्यायाधीशद्वय ईश्वरीप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजालसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ९इआइए० सहितको काजजात अदालतमा पेस गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।

सरकारले आठ हजार हेक्टर क्षेत्रफलमा निमार्ण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको इआइए २०७४ चैतमा वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरेको थियो ।