एकै दिनमा ११ जना साउदी राजकुमार पक्राउ

  • | आइतबार, २३ पुष, २०७४
  • | 3 years ago

 काठमाडौँ , पुस २३ । साउदी अरबको प्रहरीले ११ जना राजकुमारलाई पक्राउ गरेको छ । साउदी राजा सलमान बिन अब्दुल्लाजिज अल साउदको सत्ताविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा शनिबार ती राजकुमारहरू पक्राउ परेको साउदी अरेबिरयाका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

दरबारमा रहेर राजाविरोधी गतिविधि र षड्यन्त्र गरेको आरोप उनीहरूमाथि लगाइएको छ । साउदी राजा सलमानले सरकारलाई राजकुमारहरूले प्रयोग गरेको बिजुली र पानीको बिल नतिर्न निर्देशन दिएका थिए ।

 

सो निर्देशनको विरोधमा राजकुमारहरूले दरबारविरोधी गतिविधि सञ्चालन गरेका थिए ।

 

आफूहरूले वर्षौंदेखि पाउँदै आएको सुविधा कटौती भएपछि राजकुमारहरू विरोधमा उत्रिएका थिए । त्यस्तै, हत्या अभियोगमा गत वर्ष मृत्युदण्ड सुनाइएका राजकुमारको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग पनि उनीहरूले गरेका थिए ।


राजकुमारले दरबारविरुद्ध विद्रोह गर्न थालेपछि सरकारले बाध्य भएर जेल कोचेको दरबारका एक अधिकारीको भनाइ उद्धृत गर्दै साउदी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

सुधार कार्यक्रमअन्तर्गत साउदी सरकारले केही महिनाअघि केही उच्च पदस्थ अधिकारीलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेको थियो ।