सर्वोच्चले भन्यो, ‘तत्काल वंशजका आधारमा नागरिकता नदेऊ’

  • | मंगलबार, २६ चैत, २०७५
  • | 2 years ago


काठमाडौं । जन्मसिद्ध नागरिकलाई तत्काल वंशजका आधारमा नागरिकता नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तिरम आदेश दिएको हो ।

 

उक्त निर्णय यथास्थितिमा राख्न र वैशाख ३ गते छलफलका लागि उपस्थित हुन सर्वोच्च अदालतले अन्तरकालीन आदेश दिएको छ।

 

अधिवक्ता बालकृष्ण न्यौपानेले विद्यमान कानूनअनुसार जन्मसिद्धलाई वंशज नागरिकता प्रदान गर्नु कानूनसम्मत नभएको भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयलाई यस्तो आदेश दिएको हो ।

 

गृह मन्त्रालयले १९ चैतमा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो ।