कसले जित्ला त सुपर कपः म्यानचेस्टर युनाइटेड भर्सेस रियल मड्रिड

  • | बुधबार, २५ साउन, २०७४
  • | 4 years ago

स्पेनिस च्याम्पियन रियल म्याड्रिड र इङ्गलिस क्लब म्यानचेस्टर युनाइटेड सिजनको पहिलो औपचारिक उपाधिका लागि भिड्दै छन्।

 

जिनेदिन जिदानको प्रशिक्षकत्वमा रहेको रियलको सामना गर्न जोसे माउरिन्होको टोली सोमबार त्यसतर्फ लागेको छ। यी दुई टोलीले ३३ हजार ४ सय ६० जना दर्शक क्षमताको फिलिप एरिनामा एक(अर्कोको सामना गर्नेछन्। युनाइटेडका नयाँ खेलाडी नेमान्जा म्यटिचले बुधबार साम्पडोरियासँग २–१ को जितमा प्रभावशाली प्रदर्शन गरेकाले उनले रियलविरुद्ध खेल्ने सम्भावना छ। अर्कोतिर यो सिजन क्लबमा आबद्ध भएका भिक्टर लिन्डेलोफ र रोमेलु लुकाकुले पनि प्रतिस्पर्धात्मक खेलमा ‘डेब्यू’ गर्ने सम्भावना छ।

 

प्रि सिजनको कुनै खेलमा नखेलेका रोनाल्डो सुपर कपमा अधिकांशको ध्यान खिच्ने खेलाडीका रुपमा हेरिएका छन्। उनीसँगै २४ सदस्यीय टोलीमा नयाँ सदस्य डानी सेबालोस र थियो हर्नान्डेज रहेका छन्। बालोन डी’ओर विजेता रोनाल्डो पुरानो क्लब युनाइटेडविरुद्ध उत्रदा लुका मोड्रिच र ग्यारेथ बेलजस्ता स्टारको पनि साथ रहनेछ। रियलले गत सिजन लोनमा बिताएका बोर्जा मायोरल र जेसस भालेजोलाई पनि टोलीमा समावेश गरेको छ।

 

युनाइटेडका प्रशिक्षक माउरिन्होले आफ्नो क्लबको प्रि(सिजन उत्कृष्ट रहेको बताएका छन्। ‘सबैले खेले। हामीले धेरै परिक्षण गर्यौं। यद्दपी नतिजाको हामीले धेरै मतलब गरेनौं,’ उनले भने,‘हामीले टोलीमा आउने आमुल परिवर्तनका विषयमा परिक्षण गरेका हौं। केही चोटले समस्या पारेको छ, तर त्यस्तो चिन्ताजनक छैन। अब हाम्रो ध्यान सुपर कप र प्रिमियर लिगको पहिलो खेलमा लक्षित छ।’