राजपाको माग सम्बोधन गर्न प्रधानमन्त्रीले मागे ७ दिनको म्याद

  • | बुधबार, ११ पुष, २०७५
  • | 2 years ago


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा नेपालले अघि सारेका माग सम्बोधन गर्न सात दिनको लागि मागेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान राजपाका अध्यक्षमण्डलसँग भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले राजपाले अघि सारेका माग सम्बोधनका लागि सात दिन पर्खन आग्रह गरे ।

 

बैठकपछि राजपा अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले आफूहरुले अघि सारेका मागप्रति प्रधानमन्त्री ओली सकारात्मक देखिएको बताए ।
प्रधानमन्त्री ओलीले राजपाले अघि सारेका माग सम्बोधन गर्न आफू सकारात्मक रहेको र प्रक्रिया अघि बढाउन सात दिनको समय चाहिने बताएका थिए ।

 

राजपाले मधेसको माग सम्बोधनका लागि संविधान संशोधन गर्नु पर्ने, कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीलाई पद तथा गोपनीयताको सपथ गराउनु पर्ने, उनी र अन्य कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिनु पर्ने लगायतका माग अघि सार्दै आएको छ । राजपाले आफ्ना माग सम्बोधन गर्ने सहमति पछि प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गरेको भन्दै बताउँदै आएको छ ।

 

राजपाले आफूहरुका माग सम्बोधन नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री ओलीले राजपाका नेताहरुलाई छलफलका लागि बोलाएका थिए ।