प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित थपलियाको सुनुवाई बुधबार हुने

  • | मंगलबार, ३ बैशाख, २०७६
  • | 2 years ago


काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाई बुधबार गर्ने संसदीय सुनुवाई समितिले निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको समितिको बैठकले संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध परेको ६ वटा उजुरी खुला गर्दै बुधबार दिउँसो २ बजे सुनुवाई गर्ने निर्णय गरेको हो ।

 

बुधबार बिहान ११ बजे उजुरीकर्तासँग छलफल गर्ने समितिले जनाएको छ ।  यस्तै बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ५ जनाको सुनुवाई भने बिहीबार गर्ने निर्णय गरेको छ ।
सर्वाेच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित हरि फुयाँल, कुमार रेग्मी, मनोजराज शर्मा, उच्च अदालतका मुख्य न्यायाधीशद्वय प्रकाश ढुंगाना र सुक्ष्मलता माथेमाविरुद्ध परेको उजुरीमाथि छलफल र सुनुवाई गर्ने कार्यक्रम पनि बिहीबार ५ गतेका लागि तय गरिएको समितिले जनाएको छ ।

 

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सिफारिस प्रक्रियानै गलत रहेको दावी गर्दै २ वटा र अन्य ३ वटा गरी ५ वटा उजुरी परेको पनि संसदीय सुनुवाई समितिले जनाएको छ ।