'हेग’मा लगे झनै हिरो हुनेछु : प्रचण्ड(भिडियोसहित)

  • | सोमबार, १३ साउन, २०७६
  • | 2 years ago


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालत ‘हेग’मा लगे झनै हिरो हुने बताएका छन् ।

 

सोमबार ललितपुरमा नेत्रविक्रम चन्द निकट नेकपाका पोलिटब्यूरो सदस्य रमण घिमिरेलाई पार्टी प्रवेश गराउदै दाहालले हेगले आफुलाई झन हिरो बनाउने दाबी गरेका हुन् । हेगमा पुगे संसारका जनताले आफू न्याय र शान्तिका पक्षमा रहेछ भनेर बुझ्न पाउने उनको भनाइ छ ।

 

अध्यक्ष दाहालले शान्ति प्रक्रिया, गणतन्त्र, समावेशिता मन नपरेका र त्यसको नेतृत्व गर्नेले आफुलाई सिध्याउन पाए ब्यवस्था नै उल्टाउन पाउन्थ्यो भनेर षडयन्त्रमा लागेको आरोप पनि लगाए । तर त्यस्तो षडयन्त्र सफल नहुने उनको भनाई थियो । उनले नेत्रबिक्रम चन्दको लाइनबाट परिवर्तन सम्भव नभएकाले उनी पनि नेकपामै आउने दाबी पनि गरे ।
अध्यक्ष दाहालले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउन पाए हुन्थ्यो भन्नेमा प्रतिक्रियावादी रहेको बताएका छन् । उनले भने, ‘यो व्यवस्था नै उल्टियो भने नेपाल नै बर्बाद हुने खतरा छ ।’ जनता र राष्ट्रलाई माया गर्ने र परिवर्तनलाई रुचाउने सबै इमान्दार नेता तथा कार्यकर्ता एक ठाउँमा एकतावद्ध भएर यो व्यवस्थाको रक्षा गर्नुपर्ने अध्यक्षले बताए ।

 

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने नेताहरु विरुद्ध षडयन्त्र र प्रचार गरेर सिध्याइयो भने व्यवस्था पनि सिध्याउन सकिन्छ भन्नेमा प्रतिक्रियावादी रहेका छन् ।’

उनले संघीय लोकतान्त्रिक गणतन्त्र रहँदासम्म आफूहरु कोही पनि कमजोर नहुने बताए ।