पोलिमर नोट प्रकरणमा सक्कली फाइल झिकाउन विशेषको आदेश

  • | शनिबार, ११ फागुन, २०७५
  • | 2 years ago


काठमाडौं । पोलिमर नोट प्रकरणमा विशेष अदालत काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको सक्कली फाइल र साक्षीहरुलाई बोलाउन आदेश गरेको छ ।

 

न्यायाधीशहरु द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले अन्तिम फैसलाका लागि यस्तो आदेश गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विशेष अदालतसम्म पुस ५ गते विशेष अदालतका तत्कालीन गर्भनर तिलक रावलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । लामो अनुसन्धानपछि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

पोलिमर नोटमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले तत्कालीन गर्भनर रावल, नोट विभागका प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट हिमालयबहादुर पाण्डेविरुद्ध १० करोड बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

 

उक्त मुद्दामा माघ १४ गते रावल १० लाख र अर्का प्रतिवादी पाण्डे ८ लाख रुपैयाँ धरौटीमा रिहा भइसकेका छन् ।
विशेषले माग गरेको विवरण र साक्षीहरुको बयानपछि विशेषले उनीहरुको संलग्नताबारे फैसला सुनाउनेछ ।

२०५९ सालमा नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको पोलिमर नोट छाप्दा करोडौंको भ्रष्टाचार भएको आरोप लागेको करिब १६ वर्षपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।