आयल निगम मासिक ५० करोड घाटामा

  • | आइतबार, ३ भदौ, २०७५
  • | 3 years ago

नेपाल आयल निगमको घाटा बढेर १५ दिनमा २५ करोड रुपियाँ पुगेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर अगस्ट १ र १६ मा पठाएको मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा २५ करोड रुपियाँ घाटा हुने देखिएको हो । मासिक भने निगमलाई ५० करोड रुपियाँ घाटा हुने देखिएको छ ।

गत ३० असारमा आईओसीले पठाएको मूल्य सूचीमा पनि निगमको घाटा २५ करोड रुपियाँ नै थियो । नयाँ मूल्यसूची आईओसीबाट निगमले प्राप्त गरेको भए पनि निगमले ग्यास, पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य सावितकै मूल्य राखेकाले निगमको घाटा बढेर गएको हो ।

अर्कातर्फ भने अमेरिकी डलर बलियो हुँदै जानुले पनि निगमको घाटामा वृद्धि गर्नको लागि मद्दत पुगेको छ । डलरको विनिमयदरमा प्रतिडलर वृद्धि हुँदा निगमले अन्तर्राष्ट्रिय डलरको मूल्यअनुसार निगमले आईओसीलाई भुतानी गर्नुपर्ने हुँदा निगमलाई थप नोक्सान थपिएको निगमका निमित्त प्रमुख सुशील भट्टराईले बताउनुभयो ।

गत जुनमा १ सय ८ रुपियाँ रहेको डलर लगातार उक्कालो चड्ने क्रममा हाल १ सय १२ रुपियाँ विनिमय दर रहेको छ । जुन यता ४ रुपियाँ डलर बढेपछि निगमको ६० करोड रुपियाँ थप दायित्व बढेको निमित्त प्रमुख भट्टराईको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा ७१ देखि ७३ कै आसपासमा प्रतिव्यारेल क्रल आयलको मूल्य रहेको भए पनि अमेरिकन डलरको कारणले निगमको घाटा चुलिदै गएको निगमको भनाइ रहेको छ ।

निगमले अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजन गँदै आए पनि अमेरिकी डलरसँग भारतीय र नेपाली मुद्रा कमजोर हुँदा निगमको घाटामा थप भएको हो । नेपाल समाचारपत्रमा खबर छ ।