निर्मला प्रकरण : डिएनए रिपोर्ट कञ्चनपुर लगिदै

बुधबार आधिकारिक व्यक्तिको उपस्थितिमा खोलिने

  • | मंगलबार, ३ पुष, २०७५
  • | 2 years ago


काठमाडौं । कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको घटनामा संलग्नताको आशंकामा पक्राउ परेका २ जनाको डिएनए रिपोर्ट कञ्चनपुर लगिदैछ ।

 

पक्राउ परेका प्रदीप रावल र विशाल चौधरीको डिएनए प्रोफाइल रिपोर्ट शिलबन्दी गरेर मंगलबार कञ्चनपुर पठाउन लागेको हो ।
प्रहरीको विधि विज्ञान प्रयोगशाला र नास्टले शुक्रबार दुबैजनाको रिपोर्ट प्रहरी प्रधान कार्यालयमा बुझाएको थियो ।

 

प्रहरी प्रधान कार्यालयले आइतबार कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेरसिंह कडायतलाई जानकारी गराउँदै रिपोर्ट लिन आधिकारिक ब्यक्ति पठाउन भनेको थियो ।
सोही आधारमा कञ्चनपुरबाट आएका एक प्रहरी अधिकृतले सोमबार प्रहरी प्रधान कार्यालयबाट रिपोर्ट बुझेका छन् ।

 

कञ्चनपुर प्रहरीले प्रदीप र विशालको डिएनए रिपोर्ट मंगलबार साँझसम्म पुगेमा बुधबार जिल्ला सरकारी वकिल कार्यालयका आधिकारिक व्यक्तिको उपस्थितिमा खोल्ने तयारी छ ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले कञ्चनपुर उल्टाखामका प्रदीप र विशाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

 

 

गएको साउन १० गते साथीको घर गएकी निर्मलाको भोलीपल्ट मात्र उखु बारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।
घटना घटेको ५ महिना पुग्न लाग्दा समेत अपराधी पत्ता लागेको छैन ।