नाइट क्लवमा गएका चार फुटबलर अनुशासनको कारवाहीमा, ५० हजार जरिबाना

  • | शनिबार, २८ मंसिर, २०७६
  • | 1 year ago


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन कमिटीले चार फुटबलरलाई निलम्बनका साथै ५० हजार रुपैयाँ जरिबाना लगाएको छ ।

 

फिफा विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्धको खेल खेल्न भुटान जानुभन्दा अघिल्लो राति डिस्कोमा गएका भन्दै अनुशासन समितिले चारै जनालाई निलम्बन गरेको हो । उनीहरुले आउँदो ए डिभिजन लिग खेल्न समेत नपाउने भएका छन ।

 

यसका साथै समितिले चारै जनालाई ५० हजार रुपैयाँ जरिबाना लगाएको छ ।  क्याम्पबाट झुटो बोलेर विमल घर्ती मगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङले नाइट क्लबमा रात बिताएका थिए ।

 

प्रशिक्षक बालगोपाल महर्जनलाई भुटान जानका लागि पैसा साट्न र सामान लिन जाने भन्दै टिम बसेको होटेलबाट उनीहरु बाहिरिएका थिए । तर राति चारै जना खेलाडीले नाइट क्लबमा बिताएको खबर प्रशिक्षक योहान कालिनले थाहा पाएपछि उनीहरुलाई तत्काल टिमबाट हटाइएको थियो ।

अनुशासन समितिले १६ नोभेम्बर देखि गरेको अनुसन्धानपछि उनीहरुलाई थप कारबाही गरेको हो । जसमा विमल र दिनेशलाई ९० दिनको प्रतिबन्ध लगाइएको छ भने अञ्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्धमा पारेको छ । जुन १३ डिसेम्बर अर्थात शुक्रबारबाट लागु हुनेछ ।