जब नेपाल आइडलले यस्तो चेतावनी दियो

  • | मंगलबार, २० भदौ, २०७४
  • | 3 years ago

काठमाडौं, भदौ २० । अन्तर्राष्ट्रिय स्तरको गायन प्रतिष्पर्धा नेपाल आइडलको बिरुद्धमा सामाजिक संजालमा प्रचार गरिएको भन्दै यसका आयोजकले आपत्ति जनाएका छन् । नेपाल आइडलको फेसवुक पेजमार्फत विज्ञप्ति जारी गरी आफूबिरुद्ध भएका प्रचारवाजीको बिरोध गर्नेहरुलाई सचेत रहन चेतावनी पनि दिइएको छ ।

 

नेपाल आइडलको विषयमा गलत प्रचारवाजी भएको भन्दै नेपालवान टिमले आधारहिन प्रचार गर्नेहरुको ‘डाटाबेस’ संकलन गरी साइवर क्राइम अन्तरगत मुद्दा दायर गर्ने चेतावनी समेत दिएको छ ।

 

साथै नियोजित रुपमा आफूबिरुद्ध लाग्नेहरुलाई अनलाईन भोटिङबारे जानकारी नभएको समेत आरोप लगाएको छ । यस्तै आफ्नो बारेमा थाहा नभएकाहरुले भ्रम फैलाएको भन्दै त्यसका पछि नलाग्न पनि अनुरोध गरिएको छ । भनिएको छ, ‘भोटिङको हिसाबकिताब केही थाहा नभएका अज्ञानीहरुले जे पायो त्यहि लेखेर समाजमा भ्रम फैलाएर शो बन्द गराउन खोज्नेहरु अरूनै उद्देश्यवाहक एजेन्टहरूदेखि सावधान रहन अनुरोध गर्दछौँ ।’

 

र आफूबिरद्ध फेरि पनि यस्ता गतिविधि भएको खण्डमा आफूहरु चुप नलाग्ने उनीहरुको चेतावनी छ । फेसवुक पेजमा लेखिएको छ, ‘हामीलाई अनाहकमा तथानाम भन्दै जाने र हामी एपिवान चुप लागेर सहेर बस्ने प्रकृतिका व्यक्तिहरुको समूहले गठित कम्पनी अवश्य पनि हैनौँ भन्नेतर्फ ति असभ्यहरूको ध्यानाकृष्ट गराउँदछौँ ।’ नेपाल आइडल टिमले आफूबिरुद्ध प्रचारबाजी गर्ने, गालीगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाईनहरुलाई साइबर क्राईम अन्तरगत कारवाही गराउने तयारीमा रहेको चेतावनी दिएको छ ।

 

नेपाल आइडलको फेसवुक पेजमा यस्तो लेखिएको छ :

 

१. जे गरिएको छ, शोको नियमको अधीनमा रही शोको लाईसेन्स दिनेले भनेअनुसार गरिएको छ । अमेरिकन वा ईन्डियन आईडलमा जे हुन्छ, नेपाल आईडलमा पनि त्यही भएको हो ।

 

२. नेपाल आईडलका बारेमा जथाभावी र सहनै नसकिने गालीगलौच, तुच्छ विचार र अमर्यादित शब्द सामाजिक संजालहरुमा पोष्ट गरेर केही व्यक्तिले स्वयंकै स्तर त जनाएका छन् साथै ती संगीतसाधक नेपाल आईडलका प्रतिस्पर्धीहरुलाई हानीसमेत पुर्याउँदै आएका छन् ।

 

३. असन्तुष्टिको पनि तरिका हुन्छ, ईन्टरनेटमा पहुँच छ भन्दैमा समाजलाई अपाच्य हुने तल्लोस्तरको भाषा नेपाल आईडलका प्रतिष्ठित जज, कर्तव्यनिष्ठ कर्मचारी एवं मर्यादित कम्पनीप्रति जथाभावी लक्षित गर्दै आफ्नो कुण्ठा व्यक्त गर्ने छूट कसैलाई पनि छैन भन्ने सचेत गराउँदछौ ।

 

४. हामी तर्कयुक्त गुनासो अवश्य पनि सुन्नेछौँ र त्यसको सम्बोधन पनि गर्नेछौँ तर हामीलाई अनाहकमा तथानाम भन्दै जाने र हामी एपिवान चुप लागेर सहेर बस्ने प्रकृतिका व्यक्तिहरुको समूहले गठित कम्पनी अवश्य पनि हैनौँ भन्नेतर्फ ती असभ्यहरूको ध्यानाकृष्ट गराउँदछौँ ।

 

५. त्यसैले हाम्राविरुद्ध अनर्गल प्रचारबाजी गर्ने, गालीगलौच गर्ने व्यक्ति समूह तथा केही अनलाईनहरुको डेटाबेस तयार गरि प्रहरीमा बुझाउने काम गरिरहेका छौँ र साइबर क्राईम अन्तरगत ती सबै पक्षलाई कडाभन्दा कडा कारवाही गराउने तयारीमा छौ साथै ती सबैका नाम धेरैभन्दा धेरै मिडियामा प्रकाशितसमेत गर्नेछौँ ।

 

६. अहिले नानाभाती शंका गरी विद्वेस फैलाउने तर भोलि आफुले चाहेकै प्रतिस्पर्धी नेपाल आईडल भएको खण्डमा कुन नैतिकताले हो त्यो स्वीकार्ने ? अलिकता पनि हेक्का छ कि छैन ? हामी नेपालीले नेपाली कार्यक्रमलाई विवादित बनाई बन्द गराउन लगाएर कुन विदेशी च्यालन र कार्यक्रमलाई सहयोग गर्न खोजेको हो सबैलाई थाहा हुन जरूरी छ ।

 

७. विदेशी च्यालनलाई करोडौ तिरेर नेपाल ल्याउने र त्यही च्यानलको त्यस्तै शोमा करोडौ रुपैयाँ बराबरको भोट हालि केवल नेपाली मूलको कुनै व्यक्तिलाई जिताउँदा उल्लास मनाउने जत्रो उदार हृदय भएका हामी आफ्नै होनहार नेपालीलाई भोट गरे भनेर कोलाहल मचाउने कदापी नेपाली हुन सक्दैनौं ।

 

८. यसरी नेपाली टिभी र शो बन्द गराई विदेशी च्यालन र शोलाई प्रोत्साहन गर्न लागि परेकाहरुको भीडबाट बचेर नेपाल र नेपाली भाषाका स्तरीय कार्यक्रमलाई माया गर्नुहुन अनुरोध छ ।

 

९. भोटिङको कुरालाई विवादित बनाएकोले गुनासो भएकाहरुका लागि आउने हप्ता कसरी निशुल्क भोट गर्ने व्यवस्था मिलाउन सकिन्छ भनी फ्रिमेन्टल मिडियासँग छलफल गरेका छौँ यसबारेमा थप सूचना छिटै सार्वजनिक गर्नेछौँ ।

 

१०. गत हप्ताको ३७.२० लाख भोट एसएमएस र अनलाईन भोटिङबाट प्राप्त संख्या हो, एसएमएसबाट मात्र आएको रकममा ५३५ (प्रतिशत) टेलिकम अपरेटर, त्यसपछिको ४०५ (प्रतिशत) सर्भिस प्रोभाईडर र बाँकीको रकममा फ्रिमेन्टल को ५०५ (प्रतिशत) कटाएर करीब १७ लाख रुपैयाँमात्र यस शोलाई प्राप्त भएको हो । एसएमएस भोटिङको हिसाबकिताब केही थाहा नभएका अज्ञानीहरुले जे पायो त्यहि लेखेर समाजमा भ्रम फैलाएर शो बन्द गराउन खोज्नेहरु अरू नै उद्देश्यवाहक एजेन्टहरूदेखि सावधान रहन अनुरोध गर्दछौँ ।

 

११. नेपाल आईडल एक व्यवसायिक शो हो, करीब १०० जनशक्तिको डेढ वर्षसम्मको मेहनत यसमा लागेको छ, नेपाली टेलिभिजनमा नयाँपन दिन प्रयासरत केही उत्साही व्यक्तित्वहरुको करोडौं रुपैयाँ यसमा लगानी भएको छ, त्यो सब निशुल्क कसरी सम्भव छ ? एपिवानको त्यतिको आर्थिक लगानी र शोकै नियमानुसार त्यसमा भोटिङको माध्यमबाट देशविदेशका नेपाली दर्शकको योगदानबाट केही नेपाली प्रतिभाहरुको जीवन फेरिने कुरालाई नाफाघाटाको व्यापारमात्र भन्न मिल्छ ? नबिर्सौं बाढीपीडितका लागि भनेर रू. ८ लाख पनि सहयोग गरिएको छ ।

 

१२. नेपालमा ३० औं वर्षदेखि सरकारी र नीजि च्यानलहरु संचालित छन् आजसम्म कसैले पनि यो स्तरको शो नेपाली दर्शकलाई पस्कन नसकेको परिप्रेक्ष्यमा आफ्नै भाषामा एउटा अन्तर्राष्ट्रिय स्तरको शो ल्याउँदा र शोको नियम अनुसार नै गर्दा एपिवानले गल्ती कहाँ गरेको छ ? नेपालमा पनि यो स्तरको भब्य शो बन्नु अवश्य पनि गर्व गर्न लायक काम भएको छ, यो शो ले संसारभरका नेपालीलाई जोडेको छ, परिवार र केही साथीभाइमात्रले चिन्ने यी होनहार प्रतिभाहरु आज नेपालकै आईडल बनेका छन् यसमा यतिविघ्न विषवमन किन ?