नेमारले पाए फेरि रातो कार्ड

  • | मंगलबार, ७ कार्तिक, २०७४
  • | 3 years ago

एजेन्सी । पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर नेमार जुनियरले फ्रेन्च लिग वानमा रातो कार्ड पाएका छन् । लिगअन्तर्गत आइतबार मार्सेविरुद्धको प्रतिस्पर्धामा नेमारले रातो कार्ड बेहोरेका हुन् ।

 

करिअरमा उनको यो आठौँ रातो कार्ड हो । नेमारले राष्ट्रिय टोली ब्राजिलबाट एकपटक मात्र रातो कार्ड पाएका छन् । ब्राजिलियन क्लब सान्तोषमा रहँदा उनले तीनपटक सीधै रातो कार्ड पाए ।

 

बार्सिलोनाबाट प्रतिस्पर्धा गर्दा नेमारले दुईपटक पहेलो कार्डस्वरूप रातो कार्ड पाए । यसै सिजनमा १९ करोड ८० लाख पाउन्डमा पिएसजीसँग आबद्ध भएका नेमारले दोस्रो पहेलो कार्ड खाँदै रातो कार्ड बेहोर्न बाध्य भए ।

 

८७औँ मिनेटमा रातो कार्ड


प्रतिस्पर्धामा नेमारले नै मार्सेविरुद्ध एक–एकबराबरी गोल फर्काएका थिए । खेलको ८७औँ मिनेटमा उनले दोस्रो पहेँलो कार्डसँगै रातो कार्ड खाँदै मैदान त्यागे । नेमारले मार्सेका लुकास ओकाम्पोसलाई धकेलेपछि रेफ्रीले रातो कार्ड देखाए ।

 

मध्यान्तरमै नेमारले चेतावनीस्वरूप पहेँलो कार्ड पाइसकेका थिए । निर्धारित खेल सकिनु तीन मिनेटअघि उनले रेफ्रीकै अगाडि लुकासलाई मैदानमै लड्ने गरी धकेलेका थिए ।

 

मार्सेको अग्रता


स्टार खेलाडीले भरिएको पिएसजीमाथि मार्सेले खेलको १६औँ मिनेटमै अग्रता लिएको थियो । स्ट्राइकर लुइस गुस्ताभोले पोस्टभन्दा ३० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै मार्सेलाई १–० को अग्रता दिलाए । खेलको ३३औँ मिनेटमा नेमारले पिएसजीलाई एक–एकको बराबरीमा पु¥याए ।

 

दोस्रो हाफमा मार्सेका फलोरेनले २–१ का लागि गोल गरे । खेलको अन्तिम समयमा एन्डिसन काभानीले पिएसजीलाई दुई–दुईको स्थितिमा राखे । बराबरी नजितापछि पनि पिएसजी शीर्ष स्थानमै छ ।