रियल मेड्रिडलाई हराउँदै इतिहास रच्न चाहन्छौँ : नेयमार

  • | आइतबार, ९ पुष, २०७४
  • | 3 years ago

दोहा, पुस ९ । पेरिस सेन्ट जर्मन (पीएसजी)का फरवार्ड नेयमारले च्याम्पियन्स लिगको नकआउट चरणमा रियल मड्रिडलाई हराउँदै इतिहास कायम गर्न टोली तयार रहेको बताएका छन् ।

 

पछिल्लो समय फुटबलमा अत्यधिक लगानी गरेको पीएसजीलाई च्याम्पियन्स लिगको नकआउट चरणको पहिलो खेल नै रियल मड्रिडसँग परेको छ । यो खेलको विषयमा बोल्दै नेयमारले भने, “हामीलाई थाहा छ, यो हाम्रा लागि निकै कठिन खेल हो तर हामी यो खेल अवश्य जित्नेछौँ ।”

 

विन्टर ट्रेनिङको लागि कतारको दोहा आइपुगेका नेयमारले सञ्चारकर्मीहरुसँग बोल्दै यस्तो बताएका हुन् । नेयमारले आफूहरु इतिहास रच्न तयार रहेको र त्यसको लागि मिहिनेत पनि गरिरहेको बताएका हुन् । गएको अष्गट महिनामा बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पीएसजीमा नेयमार गएसँगै यो टोलीले धेरैको ध्यान खिचेको छ ।

 

पीएसजी च्याम्पियन्स लिगमा क्वार्टरफाइनलभन्दा माथि पुग्न सकेको छैन । गएको वर्ष पनि नकआउट चरणमा बार्सिलोनासँग पहिलो लेगमा राम्रो प्रदर्शन गरेको भए पनि दोस्रो लेगमा बेहोरेको पराजयको कारण क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । पीएसजीलाई हराउन उक्त खेलमा नेयमारले पनि महत्वपूर्ण गोल गरेका थिए ।

 

आगामी फेब्रुअरीमा पहिलो लेगका लागि पीएसजीले रियल मड्रिडको घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । दोस्रो लेग मार्च ६ मा हुनेछ ।