एनसिएल वोमन्स टि–२० क्रिकेट लिग प्रतियोगिता वैशाखमा

विजेता टोलीलाई १० लाख रुपैयाँ

  • | सोमबार, ४ चैत, २०७५
  • | 2 years ago



काठमाडौं । एनसिएल वोमन्स टि–२० क्रिकेट लिग प्रतियोगिता वैशाखमा हुने भएको छ । एनसीएल स्पोर्टस प्रालीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वैशाख ७ देखी १४ गतेसम्म विराटनगरस्थित बैजनाथपुर क्रिकेट मैदानमा प्रतियोगिता हुने जनाएको हो ।

 

प्रतियोगितामा विराटनगर रोअरिङ लायोनेस, भैरहवा क्विन्स, धनगढी वन्डर वुमन र काठमाडौं सुपर च्याम्पियन्स गरी चार टोलीको सहभागिता रहने छ ।

 

विराटनगरका मालिक अनुप सक्सेना रहेका छन भने भैरहवा क्विन्सको मालिक अनिल भण्डारी र दीपक सुवेदी छन् । यस्तै धनगढी वन्डर्स ओमेनको मालिकमा हरि खनाल छन् । काठमाडौं सुपर च्याम्पियनकी मालिक रेखा थापा रहेकी छिन् ।
नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री (भैरहवा), सिता रानामगर (धनगढी ), नेरि थापा(काठमाडौं ),करुणा भन्डारी (विराटनगर) टोलीको मार्की खेलाडीका रुपमा रहेका छन् ।

 

टोलीको खेलाडी छनोटका लागि केहि दिनमा अक्सन हुने जनाईएको छ । प्रतियोगितामा ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको छ । अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ रहनेछ । बी ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ रहनेछ । त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहनेछ ।

 

प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १० लाख रुपैयाँ र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको प्लयेर अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले प्राप्त गर्ने पुरस्कारका प्रदान गर्ने समेत आयोजकले जनाएको छ ।

 

एनसिएल स्पोट्र्सले एसियाकै पहिलो महिला फ्रेन्चाइज्ड लिग हुन लागेको दाबी पनि गरेको छ । यस भन्दा अघि चैत्र १ गते हुने भनिएको यस प्रतियोगिता मुख्यमन्त्री कप र यसै महिना प्रदेश ५ मा आयोजना हुने आठौ राष्ट्रिय खेलकुदका कारण चैत्र १ देखि ९ सम्मका लागि तय भएको क्रिकेट निर्धारित मितिमा हुन नसकेको आयोजकले जनाएको छ ।