‘नाइँ नभन्नू ल–५’लाई दर्शकको साथ

  • | शनिबार, ९ भदौ, २०७५
  • | 2 years ago

काठमाडौं । ‘नाइ नभन्नू ल’को पाँचौं सिक्वेल चलचित्र नाइ नभन्नू ल–५ को ओपनिङ सुखद् रहेको निर्माण पक्षले जनाएको छ । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रलाई दर्शकले साथ दिएका छन् । योसँग बक्सअफिसमा भिडन्तका लागि अर्को नेपाली फिल्म ‘रेनी’ पनि प्रदर्शनमा आएको छ ।


गीतसंगीत र ट्रेलरका कारण रिलिज अगावै दर्शकमाझ प्रतिक्षीत बनेको ‘नाइँ नभन्नू ल–५’ लाई भेट्रोन निर्देशक विकासराज आचार्यले निर्देशन गरेका हुन् । निर्माण पनि उनकै हो । यस सिरिजमा चर्चित कलाकारहरुको अभिनय छ । बाल कलाकार अनुभव रेग्मी र अभिनेत्री प्रियंका कार्कीको चौथो पटकको निरन्तरतासँगै निरुता सिंह, दीलिप रायमाझी, केकी अधिकारी, स्वस्तिमा खड्कालगायतको अभिनय रहेको छ । ‘नाइँ नभन्नू ल–५’ बाट यसपटक बाल कलाकारमा सेड्रिना शर्मा र नव–नायकमा अभिषेक नेपालले डेब्यू गरेका छन् ।

फिल्ममा यसपाली इलाम र झापालाई कथाको पृष्ठिभूमि बनाइएको छ । वान टाइम सिनेमाको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणी दाहाल रहेका छन् ।


बाल कलाकार अनुभव रेग्मी, इमोसनल स्टोरी अनि मीठो संगीत ‘नाईँ नभन्नू ल’ शृंखलाका विशेषता रहँदै आएका छन् । पाँचौं शृंखलामा पनि ती तीन कुरा नछुटेको निर्देशक आचार्य बताए । उनका अनुसार, सदा झैं ‘नाईं नभन्नू ल ५’ पनि फेमिली ड्रामा फिल्म हो । फिल्मलाई निर्देशक आचार्य र सामीप्यराज तिमल्सेनाले मिलेर लेखेका हुन् भने छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् ।


चलचित्रमा अनुभव रेग्मी ‘नीर’ र सेड्रिना शर्मा ‘अन्जना’ को भूमिकामा छन् । फिल्मको मूल कथा नै यी दुईको वरिपरि घुमेको छ । अभिनेत्री स्वस्तिमा खड्काको बालापनको भूमिका नव–बाल कलाकार सेड्रिनाले निभाएकी छन् भने नव–अभिनेता अभिषेक नेपालको बाल्यकालको भूमिकामा अनुभव देखिएका छन् । लोकेसन, संवाद, छायांकन र कलाकारको अभिनयले चलचित्र निकै राम्रो बनेको दर्शकले प्रतिक्रिया दिएका छन् । शुक्रबार राजधानीको बिग मुभिजमा फिल्मकोे विशेष शो राखिएको थियो । जहाँ ‘नाइँ नभन्नू ल’ सिरिजसँग जोडिएका कलाकारदेखि विभिन्न चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति थियो ।


बर्षा राउत, दीपाश्री निरौला, सरोज खनाललगायतका चलचित्रकर्मीले फिल्म हेरेपछि ‘नाइँ नभन्नू ल–५’ उत्कृष्ट बनेको भन्दै प्रशंसा गरे । विशेष शोमा सहभागी अधिकांश आँखाको आँसु पुछ्दै हलबाट बाहिरिएका थिए । त्यो भिडमा अभिनेत्री द्वय बर्षा राउत र प्रियंका कार्की पनि थिए । फिल्ममा प्रमुख भूमिका निर्वाहा गरेकी सेड्रिनाको सुन्दरता र अभिनयको अधिकांशले तारिफ गरेका छन् ।