कामका लागि विदेश जानुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : प्रधानमन्त्री

  • | आइतबार, १५ आषाढ, २०७६
  • | 2 years ago


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कामका लागि विदेश जानुपर्ने अवस्थाको चाँडै अन्त्य हुने बताएका छन् ।  राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने ‘हामी स्वदेश मै आकर्षक रोजगारीको सृजना गर्छौं । आधुनिकीकरण र औद्योगीकिकरण जती बढाउदछौं त्यती नै रोजगारीको सृजना हुन्छ । यो अवस्था सृजना गर्न सरकार लागि परेको छ ।’

 

उनले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको बताए ।
‘सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा हुन् । विकास र समृद्धि सबैको आवश्यकता हो’ प्रधानमन्त्री ओलीले भने, ‘देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलासामा छ ।’

 

ओलीले भावी सन्ततीले अहिले जस्तो गरिबीको सामना गर्नुपर्ने स्थितीको अन्त्य गर्नुपर्ने बताए ।  उनले भने, ‘भावी सन्ततीलाई पनि यही गरिबीको स्थिती कायम राख्ने होइन । बेरोजगारी कै अवस्थामा राख्ने होइन । मेरो कार्यकाल टुंगिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउँछु ।’

 

प्रधानमन्त्री ओलीले देशमा काम गर्ने सक्ने जनसंख्याको बाहुल्यनता भएकोले यो अवसरको सदुपयोग गर्नुपर्ने बताए ।  नेपाल काम गर्न चाहने कर्मवीरहरुको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘नेपाल श्रम गर्न नहिचकिचाउनेहरुको देश हो । नेपालीहरु श्रम गर्नमा रुची राख्छन्’ प्रधानमन्त्री ओलीले भने, ‘तर यहाँ काम नपाएर ठुलो संख्यामा नेपालीहरु विदेशमा श्रम गर्न गइरहेका छन् ।’