मनोज पुन र सोम आलेलाई २२ गोली

  • | बुधबार, ९ फागुन, २०७४
  • | 3 years ago

काठमाडौं । रुपन्देहीको देवहद नगरपालिका–४ भवानीपुरमा आज बिहान साढे ३ बजे प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनलाई १२ गोली लागेको बताइएको छ । पुनसँगै मारिएका सोम बहादुर आलेलाई १० गोली लागेको छ ।

 

पुनको अगाडीको भागमा ८ वटा, बायाँ तिघ्रामा २ वटा, पछाडि ढाडमा १ वटा, दायाँ हातको पाखुरामा १ गरी १२ गोली लागेको प्रहरीको मुचुल्कामा उल्लेख गरिएको छ ।

 

त्यस्तै पुनसँगै रहेका मुख्य सहयोगी आलेको छातिमा ५ वटा, दायाँ खुट्टाको साप्रामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी १० गोली लागेको छ ।

 

गम्भीर घाइते भएका पुन र आलेको बिहान लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । रुपन्देहीमा पुन आएको भन्ने सुचनाका आधारमा प्रहरी टोली खटिएको थियो ।

 

रुपन्देहीको देवदहमा प्रहरी माथि पुनले फायर गरेपछि जवाफी कारवाही गर्दा पुनसहित उनका सहयोगीलाई गोली लागेको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीले जानकारी दिए ।

 

पुन देवदह निवासी हुन् । प्रहरीले पुनका साथबाट एउटा पेस्तोल समेत बरामद गरेको छ ।

 

गुण्डा नाइके पुनले युवा संघ रुपन्देहीका तत्कालिन अध्यक्ष दुर्गा तिवारी र संघका नेता तथा युवा व्यवसायी बलु पौडेलको हत्यामा आफ्नो संलग्नता रहेको सञ्चार माध्यमबाट बताउँदै आएका थिए । विभिन्न हत्या तथा आंतकमा पुन मुख्य फरार अभियुक्त हुन् ।