अातंकित बनाउँदै कलिला हातहरु, ग्याङ् फाइटदेखि हत्यामा संलग्न

  • | सोमबार, २६ भदौ, २०७४
  • | 4 years ago

व्यास नगरपालिका–१० वनबाटिकामा २ समूहबीचको ग्याङ फाइट भयो । फाइटकै क्रममा आकाश थापामाथि खुकुरी र अन्य धारिलो हतियार प्रहार भयो । उनी मारिए ।

 

१८ वर्षीय थापाको हत्याको कारण सानो विवादको रिसइबी थियो । मारिने आकाशमात्रै होइन हत्यामा संलग्न पनि कलिलै उमेरका थिए ।

 

पोहोर साउन २९ गतेको उक्त घटनामा संलग्न सबैजसो किशोरावस्था पनि नकाटेका ८ जना बालक थिए । १६ वर्षमुनिकालाई कानुनी भाषामा ‘अन्डर एज’ अर्थात बालक भनिन्छि । कानुनद्वारा दण्डित हुने गल्ती गरेका तर १६ वर्ष उमेर नपुगेका र अदालतबाट सजायको फैसला सुनाइएका त्यस्ता अन्डर एजहरुलाई जेलमा होइन सुधारगृहमा राखिन्छ ।

 

तनहुँ जिल्ला अदालतले त्यो घटनामा संलग्न ६ जना किशोरलाई बाल सुधार गृह पोखरा पठायो भने २ जनालाई परिवारको जिम्मामा छाडिदिने फैसला सुनायो ।

 

जिल्ला प्रहरी कार्यालय तनहुँमा आर्थिक वर्ष २०७३-७४ को फाइल पल्टाउने हो भने हत्या (कर्तव्य ज्यान)का ६ वटा घटना भएको देखिन्छ । जसमा २८ जना संलग्न छन् । तीमध्ये २ वटा घटनामा बालकहरु अर्थात ‘अन्डर एज’ का १० जना किशोर संलग्न छन् । त्यही वर्षमा ४ प्रदेशका अरु जिल्लामा हेर्ने हो भने तनहुँबाहेक अन्त हत्याको घटनामा बालक संलग्न रहेको पाइँदैन ।

 

वैशाख १ गते ४५ वर्षीय विक्रम परियारको हत्यामा संलग्न रहेको भन्दै २ जना बालकलाई पुर्पक्षका लागि बाल सुधार गृह पोखरा पठाइयो । फोटो खिच्ने विषयमा विवाद हुँदा व्यास नगरपालिका–१ भादगाउँको छाला उद्योगनजिकै परियार र ४४ वर्षीय देवीनारायण श्रेष्ठमाथि ५ जनाले धारिलो हतियार र ढुङ्गाले प्रहार गरेका थिए ।

 

परियारको उपचारको क्रममा दमौली रत्नहरि मेमोरियल अस्पतालमा ज्यान गयो । जिल्ला अदालतले घटनामा संलग्न रहेका ५ जना आरोपितमध्ये ३ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्‍यो भने दुई जना ‘अन्डर एज’ कालाई बाल सुधार गृह पोखरा पठायो ।

 

त्यसअघि २०७२ साल जेठ १० गतेको घटनामा पनि कलिला हातमा हत्याको दाग लागेको थियो । व्यास नगरपालिका–२ बालमन्दिर लाइनमा २०७२ जेठ १० गते दिनेश थापा र १७ वर्षीय रेगन थापामाथि खुकुरी चलाउने १० जनामध्ये ८ जना किशोर १६ वर्षभन्दा मुनिका थिए ।

 

उनीहरुलाई तनहुँ जिल्ला अदालतले २ जनालाई पुर्पक्षका लागि कारागार चलान ग¥यो ७ जनालाई बाल सुधार गृह पोखरा पठायो र एक जनालाई परिवारको जिम्मामा छाडिदिने फैसला सुनायो ।

 

तनहुँमा पछिल्लो समय गुन्डागर्दी बढ्दो छ । आफूभन्दा अग्रज गुन्डागर्दीमा सव्रिmय भएको देखेर किशोरहरु हत्यामै उत्रिन थालेको प्रहरी अधिकारी बताउँछन् । १६ वर्षभन्दा मुनिका किशोरलाई परिवारले ख्याल नगर्दा अपराधमा होमिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी उमेश जोशीले बताए ।

 

‘घटनामा संलग्न अधिकांश किशोरका बुवा विदेशमा भएका कारण आमालाई नटेर्ने समूह बनाएर हिँड्ने गरेको पाइयो,’ उनले समाधानसँग भने, ‘बुवा विदेशमा भएको हुनाले होला पैसाको कमी नहुने, खाने घुम्ने अनि अपराधमा फस्ने गरेको पाइन्छ ।’

 

कतिपय घटनामा संलग्नविरुद्ध मुद्दा चले पनि अदालतबाट धरौटीमा रिहा भएका उदाहरण छन् । त्यस्ता युवा फेरि आपराधिक क्रियाकलापमा संलग्न भएको एसपी जोशी सुनाउँछन् ।

 

‘केही महिनाअघि तनहुँबाट ज्यान मार्ने उद्योग मुद्दामा धरौटीमा छुटेको छुटेका युवाहरु ३ दिनपछि पोखरामा हातहतियारसहित पक्राउ परे,’ उनले भने, ‘त्यस्तै धेरै घटना छन्, पीडितको उजुरी अनुसार पक्राउ गरेर अदालत लगिन्छ तर पछि पीडितकै कमी कमजोरीले गर्दा धरौटीमा उम्किन्छन् ।’