भूकम्पको कथामा बन्दै ‘ब्ल्याक इयर’

  • | शनिबार, ९ भदौ, २०७५
  • | 2 years ago

काठमाडौं । निर्देशक लक्षु गौतमको निर्देशनमा चलचित्र ‘ब्ल्याक ईयर’ अर्थात् कालो दिन बन्ने भएको छ । योगेन्द्र पनेरुले निर्माण गर्ने यस फिल्मको छायांकन भाद्र १० गतेबाट शुुरु हुँने निर्माण पक्षले जानकारी दिएको हो ।

२०७२ साल बैशाख १२ गते गएको विनासकारी भूकम्पले दिएको पीडाको कथा व्यथालाई लिएर निर्माण पक्षले ‘ब्ल्याक इयर’ निर्माणको घोषणा गरेको हो । 

गोरखाको वारपाक केन्द्र बनाइ गएको उक्त भूकम्पले झण्डै १० हजार मानिसले ज्यान गुमाएका थिए । ऐतिहासिक तथा भौतिक संरचना तहस नहस बनेका थिए । गोरखा भूकम्पका कारण भत्किएका भौतिक संरचना अझै ठडिन सकेका छैनन् । काठमाडौं ऐतिहासिक धरोहर धरहराको अवस्था जुन हालतमा थियो उस्तै छ, रानीपोखरीको अवस्था त्यस्तै छ । वसन्तपुर दरवार क्षेत्रका ऐतिहासिक सम्पदाहरुको पनि पूर्णरुपमा पुनर्निमाण हुन सकेको छैन । गोरखा भूकम्पका कारण सवैभन्दा प्रभावित जिल्लताहरु, दोलखा, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा लगायतका केही जिल्लाका केही भूकम्पपीडितको अझै पालमुनिको वास यथावत छ । भूकम्पले यस्तो विचल्ली पारेको हुँदा सोही दिनलाई कालो दिनका रुपमा लिँदै ‘ब्ल्याक इयर’को निर्माणको घोषणा भएको हो ।


फिल्मको प्रमुख भूमिकामा सुरेन्द्र बुढाथोकी र रश्मी शाह छन् । उकेश पनेरु, अनुपा खड्का, देव सागर, पवन भट्टराईलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहनेछ । भूकम्पले एउटा परिवारलाई पु¥याएको क्षतिबारे केन्द्रित रहेर फिल्म निर्माण हुने निर्देशक गौतमले बताइन् । उक्त फिल्मको छायांकन काठमाडौं र ललितपुरमा हुने बताइएको छ । रामेश्वर हुमागाँइले फिल्म खिच्नेछन् । फोकस आउट मिडिया प्रा.ली.को ब्यानरमा निर्माण हुने उक्त फिल्मको फ्लोरमा नजाँदै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । २०७६ बैशाख १२ गतेलाई ‘ब्ल्याक इयर’ को प्रदर्शन मिति तय गरिएको छ ।