खस्कदै डा.केसीको स्वास्थ्य, एन्टिबायोटिक चलाउन शुरु

  • | शनिबार, ५ माघ, २०७५
  • | 2 years ago


काठमाडौं । डा.गोविन्द केसीको स्वास्थ्यस्थिति निरन्तर खस्कँदै गएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
दश दिनदेखि इलाममा अनसनमा रहेका डा.केसीलाई शुक्रबार काठमाडौं ल्याइएको हो । शिक्षण अस्पतालको आइसियुमा उपचाररत उनलाई

 

छातिको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक चलाउन शुरु गरिएको चिकित्सकहरुले बताएका छन् ।  डा.केसीलाई छाति दुख्ने, रिंगाटा चल्ने, मांसपेशीको दुःखाइ र कमजोरी महशुस भइरहेको बताइएको छ ।

 

उनको रक्तचाप पनि न्यून रहेको छ भने अक्सिजन पनि कम हुँदै गएपछि अक्सिजन दिइएको छ । यसैगरी ब्लड सुगर र फस्फोरस पनि न्यून रहेको छ ।

उनको स्वास्थ्यमाथि निरन्तर निगरानी राखिएको छ । जुनसुकै बेला उनको स्वास्थ्य अवस्था जटिल हुन सक्नेतर्फ उपचारमा संलग्न चिकित्सकले सचेत गराएका छन् ।

 

अस्पतालमा डा.केसीको उपचारका लागि पाँच सदस्यीय चिकित्सकको टोली गठन गरिएको छ ।
केसीको उपचारमा डा. प्रदिप कृष्ण श्रेष्ठ, दिब्या सिंह र सविन थपलियालगायतको चिकित्सकको टोली रहेको त्रिवी शिक्षण अस्पतालका निर्देशक प्रेम खड्काले जानकारी दिए ।

 

डा. केसी संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भई संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा आफूसँग १५ औँ सत्याग्रहका क्रममा सरकारले गरेका सहमति समेट्नुपर्ने मागसहित ६ बुँदे माग राखेर गएको पुस २५ गतेबाट इलाममा १६ औँ अनशन शुरु गरेका थिए ।