दसैँमा घर जाँदै हुनुहुन्छ ? कोठामा चोरी होला, यी कुरामा ध्यान दिनुहोस्

  • | बुधबार, ११ असोज, २०७४
  • | 3 years ago

काठमाडौं, असोज १० । महान चाड दसैँ सुरु भएसँगै धेरै जना काठमाडौंबाट बाहिरिइ सकेका छन् । दैनिक जसो हजारौं मानिसहरु काठमाडौं उपत्यका छोड्दै गृह जिल्ला फर्कन थालेका छन् । यही मौका छापेर काठमाडौंमा उपत्यकामा चोरी गर्नेहरु सक्रिय हुने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ ।


चोरी नियन्त्रण गर्न प्रहरी हरेक वर्ष चाडपर्व विशेष सुरक्षा योजना लागु गर्ने गर्छ । तर पनि यो बेलामा काठमाडौं उपत्यकामा चोरी हुने गरेको विगतको अनुभव छ । चोरी नियन्त्रण गर्न प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने भएकाले आम नागरिकले सावधानी अपनाउनु पर्ने प्रहरीले जनाएको छ ।


चोरी, डकैती र लुटपाटबाट बच्न प्रहरीले विशेष अनुराध पनि गरेको छ । विषेश गरी दिउँसोको समयमा हुने चोरी नियन्त्रण गर्न प्रहरीको एक्लो प्रयासमात्र पर्याप्त नहुने र आम नागरिकसमेत सचेत हुनुपर्ने प्रहरीले जनाएको छ ।


प्रहरीले चोरी, डकैती तथा लुटपाटबाट बच्न निम्न कुरामा ध्यान दिनुपर्ने जनाएको छ ।


– घरबाट बाहिर निस्कदा झ्याल–ढोका राम्रोसँग बन्द गरि छिमेकीलाई जानकारी दिई जानुहोस् ।

 

– बहुमुल्य गरगहना तथा नगद घरमा नराख्नुहोुस् बैंकमा राख्ने गर्नुहोस ।

 

– बहुमुल्य गरगहना लगाई कुनै मेला पर्वमा हिँडडुल नगर्नुहोस् र गरगहना लगाई हिँडडुल गर्दाको बखत सतर्क रहनुहोस ।

 

– ढोकमा बाहिर देखिने ताल्चा लगाउँदा चोरलाई घरमा मान्छे छैन भन्ने जानकारी हुने र त्यस्तो ताल्चा फुटाउन समेत चोरलाई सहज हुने हुँदा घर, पसलको ढोकाको भित्री भागमा लगाईने भित्री ताल्चाको प्रयोग गर्नुहोुस् ।

 

– भित्री ताल्चा प्रयोग गर्न सम्भव नभएमा साइरन जडित ताल्चाको प्रयोग गर्नुहोस् ।

 

– आफ्नो टोल छिमेकमा अपरिचित व्यक्ति देखा परेमा निगरानी राखी शंका लागेमा प्रहरीलाई खवर गर्नुहोस् ।

 

– ढोकामा आग्लो, गजवार वा बलियो छेस्किनी लगाउने व्यवस्था मिलाउनुहोस् ।

 

– टोलका मानिसहरु मिलेर सेक्युरिटी साइरन जडान गर्नुहोस् ।

 

– कम्पाउण्ड वाल लगाउँदा र त्यसमाथि ग्रिल लगाउँदा सुरक्षाको दृष्टिकोणले उपयुक्त हुने डिजाइनको लगाउनुहोस् ।

 

– बहुमूल्य गहना, वस्तु तथा ठूलो रकम लिएर एक्लै नहिँड्नुहोस् ।

 

– अपरिचित व्यक्तिहरुसँग अनावश्यक बातचित नगर्नुहोस् र उनीहरुलाई घर कम्पाउण्ड प्रवेश गर्न नदिनुहोस् ।

 

– टोल छिमेकमा नौलो तथा असामान्य मानिसहरु देखा परेमा विशेष निगरानी राख्नुहोस् ।

 

– घरको सुरक्षाको लागि सुरक्षाका उपकरणहरु र प्रविधिहरु जस्तै पर्याप्त उज्यालोको व्यवस्था, आपतकालिन साइरन सिसिटिभी वा स्थानीय स्तरमा उपलव्ध उपायहरु अवलम्वन गनुहोस ।

 

– घरमा काम गर्ने वा भाडामा बस्ने व्यक्तिहरुको फोटो र स्थायी, अस्थायी ठेगाना राख्नुहोस् र उनीहरुको चाल चलनमा ध्यान दिनुहोस् ।

 

– टोल छिमिकमा रहेका बदमास र घरमा अवात जावत गर्ने अपरिचित व्यक्तिहरु माथि निगरानी राख्नुहोस् ।

 

– राति घर कम्पाउण्ड र कौशीमा पर्याप्त प्रकाशको व्यवस्था गर्नुहोस् र सम्भव भएसम्म कुकुर पाल्नुहोस् ।

 

– घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु भन्दा अगाडि ढोका वा झ्यालहरुमा चुकुल, गजवार वा पर्दा राम्ररी लगाएको छ छैन भन्ने बारे ध्यान दिनुहोस् ।

 

– लामो समयसम्मको लागि घरमा बाहिर जानु पर्दा आफ्नो विश्वासिलो व्यक्तिलाई जानकारी दिनुको साथै दैनिक रुपमा घरमा बसी लिँदै आएको सामाग्री लिन बन्द गरेर जानुहोस् ।


यी अवस्थामा तत्काल प्रहरीलाई खबर गर्नुहोस्


– आफ्नो बस्तीमा होहल्ला भएमा ।

 

– कुसमयमा र कुठाउँमा अनावश्यक गुन्गुनाहट सुनेमा ।

 

– शंकास्पद सामान वा वस्तु ओसार पसार भएमा ।

 

– अचेत वा शंकास्पद रुपमा मानिस लडेको देखिएमा ।

 

– रक्सी खाएर गाडी हाँके जस्तो लागेमा ।

 

– बस्तीमा नयाँ अनुहारहरु शंकास्पद गतिविधि गरिरहेको देखेमा ।

 

– जुवा तास (कौडा, डाइस, तिन गोटी) खेलाएको, खेलेको देखेमा ।

 

– कसैको घर वा घर नजिक शंकास्पद जमघट देखिएमा ।

 

– बिस्फोटक जन्य पदार्थको बेचबिखन, ओसार–पसार वा प्रयोग भएको देखेमा ।

 

– आवारा प्रकृतिका युवाहरुको जमघट देखेमा ।

 

– एकान्त स्थानमा मानिसहरुको जमघट भइरहेको देखेमा ।

 

– हतार हतार कोही भागी रहेको देखेमा ।

 

– हातमा हातहतियार बोकी हिँडिरहेको देखेमा ।

 

– नसाको प्रभावमा हिँडिरहेको देखेमा ।

 

– घाइते भई शंकास्पद रुममा हिँडिरहेको वा भागीरहेको देखेमा ।

 

– बेचबिखनमा अनियमितता वा कालोबजारी भइरहेको देखेमा ।

 

– सवारी साधनहरुको नम्बरहरु पोतिएको र छोपेको देखेमा ।

 

– समयमै घर आउने मानिस घर नआएमा ।

 

– निषेधित वस्तुको उत्पादन, ओसार पसार, बेचबिखन र उपभोग भएको देखेमा ।

 

– मानवीय र दैवी विपत्ती परेमा वा दुर्घटना भएमा ।

 

– दिपावलीमा पटाका, भुईचम्फा लगायत ठूलो आवाज आउने पदार्थ पट्काएमा ।

 

– अरू कुनै पनि आपतकालीन सहयोग आवश्युक परेमा ।

 

काठमाडौं उपत्यकामा माथि उल्लेखित घटना भएमा यी नम्बरमा फोन गर्नुहोस्


प्रहरी कन्ट्रोल – १००, एसपी कन्ट्रोल वान – ९८५१२८०३९१काठमाडौं प्रहरी प्रमुख रविन्द्र धानुक – ९८५१२०५५५५ललितपुर प्रहरी प्रमुख गणेश एैर – ९८५१२२५५५५ भक्तपुर प्रहरी प्रमुख किरण राना भक्तपुर – ९८५१२१५५५५


यी नम्बर वा नजिकको प्रहरी कार्यालयमा पनि सम्पर्क गर्न सकिनेछ ।

 

ढिलो खबर गरे अपराधी पत्ता लगाउन चुनौती


विभिन्न चोक चोक तथा गल्लीहरु र खुल्ला चौरमा पनि प्रहरीले चौविसै घण्टा गस्ती गरिरहेको छ । चाडपर्वमा विभिन्न प्रलोभन देखाएर ठगी हुने गरेकाले पनि त्यसप्रति सजग रहन प्रहरीले अनुरोध गरेको छ । कुनै पनि चोरी डकैती तथा अपराध भएमा तत्काल खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

 


अपराध भएको जतिसक्दा चाँडो प्रहरीलाई खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ । अपराध भइसकेको धरै समयपछि मात्र प्रहरीकोमा खबर आउने भएकाले अपराधी पत्ता लगाउन गाह्रो हुने गरेको प्रहरीले जनाएको छ । प्रहरीसँग पुराना अपराधीका अभिलेख तथा डाटाहरु कमी भएकाले त्यस्ता अपराधीलाई पत्ता लगाउन गाह्रो हुने प्रहरीले जनाएको छ ।