बिस्केट जात्रा शुरु

  • | बुधबार, २७ चैत, २०७५
  • | 2 years ago


काठमाडौं । नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने बिस्केट जात्रा शुरु भएको छ ।
जात्रा आज बिहान भैरवनाथको पूजा गरी दिउँसो भैरवनाथ र भद्रकालीका रथ तानेर जात्रा सुरु हुने गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

 

जात्राका लागि सल्लाघारी जंगलबाट गोलाई काठ ल्याएर दुईवटा ५५ हाते लिंगो तयार पारिएको छ ।
जात्राका मुख्य आकर्षणका रुपमा रथ तान्ने र लिंगो उठाउने जात्रालाई लिइन्छ ।
जात्राको पहिलो दिन रथमा खड्ग, तरबार र निशान राखेर विशेष पुजारीद्वारा पूजाआजा तथा स्थानीयवासीले समेत छुट्टा–छुट्टै पूजाआजा गरिसकेपछि रथ तानेर जात्रा शुरु गरिन्छ ।

 

 

काठ, फलाम र जस्ता प्रयोग गरी प्यागोडा शैलीमा तीनतले भैरवनाथको रथ तयार भएको छ । काठ र फलामबाटै भद्रकालीको दुईतले रथ बनाइएको छ । भैरवनाथ र पाँचतले मन्दिर अगाडि निर्माण भएका रथको पूजाआजापछि तान्त्रिक विधिअनुसार नै तौमढीका तल्लो र माथिल्लो टोलका बासिन्दाबीच रथ तान्ने प्रतिस्पर्धा हुन्छ ।

रथको अगाडि भागमा ६ र पछाडि चारवटा लामो डोरी राखिएका हुन्छन् ।
यसैबीच जिल्ला प्रशासन भक्तपुरले जात्राका बेला भक्तपुरमा मदिरा बेचबिखन गर्न रोक लगाएको छ । प्रहरीले जात्रामा संयमता अपनाउन र सभ्यताको पहिचान दिन आग्रह गरेको छ ।

 

 

जात्रामा झैँ–झगडा र दुर्घटना हुनुको मुख्य कारण नै मदिरा सेवन भएको निष्कर्ष निकाल्दै जात्रा सञ्चालन क्षेत्र वरपर मदिरा सेवन र बेचबिखन गर्न निषेध गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले बताएका छन् ।

 

यस्तै जात्रा अवधिभर भक्तपुरमा एक हजारभन्दा बढी प्रहरी परिचालन गर्ने तयारी छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठका अनुसार चौध स्थानमा नेपाल प्रहरीको बाक्लो गस्ती रहनेछ । जात्राका लागि थप तीन सय जनशक्ति माग गरी नौ सय ४१ नेपाल प्रहरी परिचालन गर्ने उनको भनाइ छ ।

 

करिब दुई सय सशस्त्र प्रहरीसमेत जात्रामा खटाउने तयारी छ । आवश्यकताअनुसार सेना परिचालनको समेत तयारी छ । रथ तान्नेवेला रथको अघिपछि प्रहरी नायब उपरीक्षक र प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिनेछ ।