यात्रुबाहक विमान दुर्घटनामा २ जनाको मृत्यु

  • | बिहीबार, १२ आषाढ, २०७६
  • | 2 years ago

 

एजेन्सी । रुसको साइबेरियामा यात्रुबाहक विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अवतरणका क्रममा बिहीबार विमानस्थल नजिकैको भवनमा ठोक्किएर विमान दुर्घटना भएको हो ।

दुर्घटनामा चालक दलका दुई जनाको मृत्यु भएको छ । साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा विमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् ।

 

एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो । विमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो । आपतकालीन अवतरण गरेको विमानले धावनमार्ग नजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो ।

 

विमानका चालक दलका दुबै सदस्यको मृत्यु भए पनि विमानमा सवार अन्य ४३ जना यात्रु सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ ।