एउटा शहरमा जब २८ वर्षपछि बच्चा जन्मियो

  • | शनिबार, १० कार्तिक, २०७५
  • | 2 years ago

एजेन्सी– जनसँख्या नियन्त्रणका लागि ठूलो कसरत गरिरहेका नेपालीहरुका लागि यो अचम्मकको समाचार हो । उत्तरी इटालीको एउटा सानो सहरका लागि भने ठूलो खुशी भित्रिएको छ अर्थात् शहरमै २८ वर्षपछि एक जोडीले सन्तान जन्माएको छ ।  यो शहरमा सन् १९८७ पछि पहिलो पटक शिशुको जन्म भएको छ । डिमाउन्ट क्षेत्रका एक मेयरका अनुसार ओस्टाना जातीको सानो समुदायको अहिले सपना पूरा भएको छ । सो समुदायको संख्या पछिल्लो एक सय वर्षमा निरन्तर गिरावट हुँदै आएको छ । गत साता इटालीको टुरिन अस्पतालमा जन्मिएका शिशु पाब्लोपछि सो समुदायका तर्फबाट बासिन्दाको संख्या जम्मा ८५ पुगेको छ । तथापी, कूल जनसंख्याको आधा जनसंख्या मात्र सो क्षेत्रमा बसोबास गर्छन् ।

 मेयर जियाकोमो लोमबार्डोका अनुसार ओस्टाना समुदायको संख्या सन् १९०० को सुरुवातमा १ हजार रहेको थियो । तर, द्वितीय विश्वयुद्धपछि जन्मदरमा निरन्तर गिरावट आएको छ । ‘सन् १९७५ पछि वास्तविक गिरावट आएको छ । सन् १९७५ देखि १९८७ को बीचमा जम्मा १७ ओटा शिशु जन्मेका थिए, ’ एक अधिकारी भन्छन् ।
नयाँ रोजगारीका अवसर सिर्जना गरेर ओस्टानाले घट्दो जनसंख्याको दरलाई उल्टाउन खोजिरहेको छ । पाब्लोको अभिभावक सिल्भिया र जोस पाँच वर्षअघि नै विदेश जाने योजनामा रहेका थिए तर नजिकको पहाडी क्षेत्रमा आवासको प्रबन्धपछि बसाई सर्ने योजनालाई थाँती राखेका थिए ।

 नेसनल युनियन फर माउन्टेन टाउन्स एन्ड कम्युनिटिजका मार्को बुसोनका अनुसार अल्पसंख्यक यस समुदायको प्रर्बद्धनका लागि कर लगायत अन्य छुट र सुविधा प्रदान गरिनुपर्छ । ताकी उनीहरुको जनसंख्या बढोस ।

 नयाँ–नयाँ कामको खोजीमा युवाहरु विदेशीने र अर्को क्षेत्रमा बसाई सराई गर्ने क्रम बढेपछि इटालिका स–साना सहरमा जनसख्ंया निरन्तर घटिरहेको बताइन्छ ।

 अल्पसंख्यक समुदायको जनसंख्यामा ह्रास आउन थालेपछि केही मानिसले निशुल्क घरको व्यबस्था गर्न थालेका छन् । जनसंख्याको पतनलाई रोक्न त्यहाँका बासिन्दालाई बिरामी हुनबाट बचाउनुपर्ने समेत इटालीका एक मेयरको भनाई छ । पाब्लोको आगमनलाई विभिन्न पार्टी र कार्यक्रमले स्वागत गरिएको छ । उनी जन्मेको सहरका विभिन्न स्थानमा झकिझकाउ गरिएको छ ।