दार्चुलामा भएको जीप दुर्घटनामा ११ जनाकै सनाखत

  • | शनिबार, १८ फागुन, २०७५
  • | 2 years ago


दार्चुला । दार्चुलाको राताकाठामा शुक्रबार राति भएको जीप दुर्घटनामा मृत्यु भएका ११ जनाकै सनाखत भएको छ । सदरमुकाम खलंगाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म १ ज २८० नंको जीप दुर्घटनामा परी ११ को मृत्यु भएको थियो भने एक घाइते भएका थिए । दुर्घटनामा ११ को घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा नौ दार्चुला र दुई बैतडीका छन् ।

 

सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर चन्दका अनुसार मृत्यु हुनेमा दुहुँ गाउँपालिका–१ का ५३ वर्षीया मानमती भट्ट, ४५ वर्षीया गौमती बम, ७१ वर्षीय धानाम बम, २४ वर्षीय धनबहादुर बम, वडा नं २ का ४१ वर्षीय कल्यानसिंह बडाल र उनका १७ वर्षीया छोरी निर्मला (निरु) बडाल, सोही ठाउँका ३५ वर्षीया परुली धामी रहेका छन् ।
यस्तै दुहुँ गाउँपालिका–४ का ५५ वर्षीया अमरा बम, सात वर्षीया आयुषा बम तथा बुहारी माइती घर पु¥याउन आएका बैतडीको दोगडाकेदार गाउँपालिका–६ का ६० वर्षीय प्रताप भनिने धनबहादुर चन्द र २१ वर्षीया स्नेहा बम चन्द रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए ।

 

जीप चालक दीपकसिंह धामी गम्भीर घाइते भएपछि गए राति नै उपचारको लागि भारतको पिथौरागढ सिफारिश गरिएको छ । उनको टाउको र खुट्टामा चोट लागेको स्वास्थ्य सहायक डम्मरदत्त भट्टले जानकारी दिए ।

 

चार दिनअघि सोही क्षेत्रमा पहिरोमा परी एकको मृत्यु भएको थियो । पहिरो गएको क्षेत्रमै जीप दुर्घटना भएको हो । जीप झण्डै ५०० मिटर तल महाकाली नदीमा खसेको थियो । घटनास्थल सदरमुकाम खलंगाबाट सात किलोमिटर पर्छ ।