पर्यटन विकास गर्न जोड

  • | आइतबार, १२ फागुन, २०७५
  • | 2 months ago

 

ललितपुर । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दक्षिण ललितपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

महाङ्काल गाउँपालिका वडा नं ३ गोटीखेलमा आज आयोजित ‘श्रीमद्भागवत एवं शिवपुराण ज्ञानमहायज्ञ’ उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री नेपालले यहाँ पर्यटकीय गणतव्यका थुप्रै सम्भावना भएकाले स्वदेशी मात्र नभई विदेशी पर्यटक पनि उत्तिकै भित्र्याउन आवश्यक देखिएको बताए ।

“हाम्रो देशले चारदेखि पाँच हजार वर्ष पुरानो इतिहास बोकेको छ”, नेता नेपालले भने, “यहाँ रहेका कूल १२५ जातजातिमध्ये एक जातिले मात्र नेपालमा पर्यटन विकास गरेर अघि बढ्न सम्भव छैन, त्यसैले सबै जाति मिलेर देश विकासमा उत्तिकै योगदान गर्नुपर्छ ।”

ललितपुरका स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर छिट्टै विकास समिति गठन गरी अघि बढ्न वरिष्ठ नेता नेपालले सबैलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “नारायणहिटी सङ्ग्रहालयभित्र गोपालवंशीदेखि शाहवंशीसम्मको दरबार निर्माण गरेमा त्यहाँ आन्तरिक मात्र नभई बाह्य पर्यटक पनि अध्ययन र अवलोकनका लागि उत्तिकै भित्रिनेछन् ।”

प्रदेशसभा सदस्य लालकुमारी पुनले दक्षिण ललितपुरको विकास गर्न लेलेबाट ठूलादुर्लुङसम्म छोटो सडक विस्तार गर्न लागिएको बताइन् ।
प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले दक्षिण ललितपुरको गोटिखेल विकासमा आफूले सकेसम्मको सबै सहयोग गर्ने बताउनुभयो । महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले गोटीखेलमा पर्यटकीय क्षेत्र विस्तार गर्न त्यहाँबाट चापागाउँ जाने सडक खोल्न लागिएको बताए ।