टाटा मोटर्स नेपालद्वारा विजेतालाई सम्मान

  • | बिहीबार, ५ बैशाख, २०७६
  • | 3 months ago


काठमाडौं । टाटा मोटर्स नेपालले काठमाडौंमा सम्पन्न सार्कस्तरीय ‘स्किलफेस्ट र टेकफेस्ट २०१९’ का विजेतालाई पुरस्कार वितरण गरेको छ ।
टाटा मोटर्सले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा संलग्न प्राविधिकहरुको ज्ञान र सीपको पहिचान र कदर गर्ने उद्देश्यका साथ म्याकलुब्रिकेन्ट्सको सहकार्यमा यही अप्रिल ११ र १२ मा प्रतियोगिता आयोजना गरेको थियो ।

 

विजयीलाई काठमाडौंको होटल याक एण्ड यतिमा एक कार्यक्रम आयोजना गरी पुरस्कार वितरण गरिएको हो । प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार (हरेक देशका दुबै समूहमा ३–३ जना) सहभागी भएका थिए । सेवा सल्लाहकार तर्फ नेपालका उज्जवल परियार प्रथम भएका थिए भने नेपालकै राजाराम केसी दोस्रो भएका थिए ।

तेस्रो पुरस्कार भने बंगलादेशका अब्दुलमलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा ग्रहण गरेका थिए । त्यसैगरी प्राविधिक वर्गमा नेपालका डेमबहादुर लामा प्रथम हुन सफल भए भने श्रीलंकाका धनुसका कुमारा दोस्रा र बंगलादेशका आलाम्गीर हुसैन तेस्रो भएका थिए ।

 

दुबै वर्गका पुरस्कार विजेता तीन–तीनजना प्रतियोगीले भारतको पुणेमा हुने विश्वस्तरीय प्रतियोगितामा सहभागी हुनेछन् । सार्कस्तरीय प्रतियोगिता हुनु भन्दा अघि नेपालको प्रतिनिधि छनोटको लागि २५० सहभागीहरु मध्ये विभिन्न तीन चरणको छनोट प्रतियोगिता पार गरी तीनजना प्राविधिक सार्क राउण्डमा सहभागी हुन योग्य भएका थिए ।

त्यसैगरी ५४ जना सेवा सल्लाहकार सहभागीहरु मध्ये अन्तिम तीनको छनोट भएको थियो । दुई वर्गको छनोट गर्ने सिलसिलामा लिखित जाँच, अन्तर्वार्ता, गाडीको प्राविधिक त्रुटीको पहिचान लगायत विभिन्न ५ विधिको अवलम्बन गरिएको थियो । कार्यक्रमको आयोजना टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले गरेको थियो ।