आरोहीका लागि बाटो बनाउँदै ८ नेपाली पुगे सगरमाथाको चुच्चुरोमा

  • | मंगलबार, ३१ बैशाख, २०७६
  • | 2 months ago


काठमाडौं । यस वर्षको हिमाल आरोहण सुरु भएसँगै आठ जना नेपाली गाइड मंगलबार दिउँसो पौने दुई बजे सगरमाथाको चुचुरोमा पुगेका छन् ।

 

सगरमाथा आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले सगरमाथा आरोहीहरुका लागि डोरीको सहायताले बाटो बनाउँदै उनीहरु चुचुरोमा पुगेको बताए ।
उनीहरु चुचुरोमा पुगेसँगै अन्य आरोहीहरुका लागि आरोहणको बाटो खुलेको छ ।

 

बाटो बनाउँदै सगरमाथाको चुच्चुरोमा पुग्नेमा दोलखाको लामाबगरका सिद्ध बहादुर तामाङको नेतृत्वमा मकालु संखुवासभाका पासदावा शेर्पा, दावा नोर्बु शेर्पा, मिङदोर्ची शेर्पा, साङबु भोटे, आङ फुर्वा शेर्पा, सोलुखुम्बुको खुम्जुङका दोर्जी ग्यालजेन शेर्पा र पासाङ दावा शेर्पा रहेका छन् ।

 

सगरमाथाको शिखरमा पुग्ने सबै काठमाडौंमा रहेको हिमालयन गाइड्स नामक एक्सपिडीसन कम्पनीमा आवद्ध हाई अल्टिच्यूट गाइड हुन् ।
उनिहरु १३ दिनअघि ८ हजार मिटर उचाइमा पर्ने साउथकोलसम्म बाटो बनाउँदै पुगेको थियो । सगरमाथा आरोहणका लागि यसपटक ३ सय ७७ जनाले अनुमति लिएका छन् ।