साफ महिला च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा

  • | बिहीबार, ३० फागुन, २०७५
  • | 1 week ago


काठमाडौं । विराटनगरस्थित शहीद रंगशालामा जारी साफ महिला च्याम्पियनसिपमा नेपाल एक खेल अगाडी नै सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

बिहीबारको खेलमा बंगलादेशले भुटानलाई २–० गोलले हराएपछि नेपाल एक खेल अगाडी नै सेमिफाइनलमा पुगेको हो । साथै बंगलादेशले पनि अन्तिम चारमा स्थान बनाउन सफल भएको छ ।

 

बिहीबारको खेलमा पहिलो हाफ गोलरहित बराबरी भएको थियो ।  दोस्रो हाफको सुरुवातमा नै बंगलादेशले खेलमा अग्रता बनायो । झक्माको कर्नरबलमा मौसमीले बंगलादेशका लागि गोल गरेकी थिइन् ।

भुटानका डिफेन्डर र गोलकिपर डिबक्समा अलमलिएको अवस्थाको फाइदा उठाउँदै बंगलादेशले गोल गर्न सफल भएको छ ।  ८६ औं मिनेटमा सविना खातुङले एकल प्रयासमा गोल गरेपछि बंगलादेशले खेलमा दुई शुन्यको अग्रता बनाएको हो ।

 

खेलको इन्जुरी समयमा फेरी खातुनको प्रहार पोष्ट नजिकैबाट बाहिरीदा बंगलादेशले खेलमा तीन शुन्यको अग्रता बनाउने मौका गुमाएको थियो ।
दुई खेलमा हार ब्यहोरेको भुटान प्रतियोगिताबाट बाहिरीएको छ भने अब समुह ‘ए’ को विजेताको टुंगो नेपाल र बंगलादेशकोबीचको खेलले गर्नेछ । सो खेल शनिबार हुनेछ । प्रतियोगितामा शुक्रबार माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा गर्दैछन् ।