राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा छैन : गृहमन्त्री

  • | मंगलबार, २८ जेष्ठ, २०७६
  • | 2 months ago


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नागरिकको नैंसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा माइतीघर मण्डलामा जेठ २६ गते प्रहरी हस्तक्षेपको बारेमा सदनलाई जानकारी गराउँदै उनले राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको बताए ।

 

गुठी विधेयकका प्रावधानमा असहमति राख्दै जेठ २६ गते माइतीघर मण्डलामा केही संस्था, समिति, सम्पदा बचाउ अभियानलगायतको प्रदर्शनको क्रममा प्रदर्शनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको उनको भनाइ छ ।
प्रहरीले सार्वजनिक सवारी साधन आवागमनमा अवरोध नगर्न गरेको आग्रह गरेपनि प्रदर्शनकारीले अस्वीकार गरी यातायात अवरोध गरेपछि पानीको फोहराको अतिरिक्त प्रहरीले सामान्य बल प्रयोग गरेको उनको भनाइ छ ।


सरकारले नागरिकको अधिकारलाई बरबर दमन गर्यो, कुण्ठित गर्यो भन्ने भनाइ गलत भएको भन्दै उनले शान्ति सुरक्षा कायम गरि सार्वजनिक यातायात सुचारु गर्नका लागि राज्यले आफ्नो दायित्व बहन गरेको बताए ।

 

बैठकमा सांसद बालकृष्ण खाँडले जिम्मेवारी लिनु पर्छ कि पर्दैन भनेर प्रश्न गरेका थिए ।  सांसद प्रेम सुवालले टिप्पर आतंक यथावत रहेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराए ।
पुष्पा भुसालले गृहमन्त्री थापाले नेवा आन्दोलनलाई अरु संघ संस्थासंग जोडेर यो आन्दोलन भैरहेको भनेर आन्दोलनलाई कमजोर बनाउने काम गरेको भन्दै घटनाप्रति सरकारले खेद प्रकट गर्नुपर्ने र जिम्मेवार हुनुपर्ने बताइन् ।