अमेरिकी गृहमन्त्री निल्सनले राजीनामा दिइन

  • | सोमबार, २५ चैत, २०७५
  • | 1 week ago


एजेन्सी । अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले पदबाट राजीनामा दिएकी छन् ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेका थिए । आलोचना लगतै उनले राजीनामा दिएकी हुन् ।

 

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै निल्सनको राजीनामा स्वीकृत गरेको जानकारी गराएका छन् । उनले गृह मन्त्रालयको जिम्मेवारी हाल अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीनानलाई दिएका छन् ।

 

म्याकअलीनान लामो समयदेखि अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागमा कार्यरत छन् । उनी अमेरिकी कंग्रेस एवं प्रशासनभित्र निकै सम्मानित व्यक्तित्व हुन् ।

 

निल्सनको अवकाशपत्रमा भनिएको छ, ‘जिम्मेवारीबाट बाहिरिने अहिले सबैभन्दा उत्तम समय हो भन्ने मैले ठानेकी छु । अब नियुक्त हुने मन्त्रीलाई कंग्रेसको पूर्ण समर्थन रहने र आप्रवासीका सम्बन्धमा देखिएका कानुनी जटिलताहरु फुक्दै जाने मैले विश्वास लिएकी छु ।’
राजीनामा गर्नुअघि निल्सनले गत शुक्रबार ट्रम्पसँगै अमेरिकी–मेक्सिको सीमा क्षेत्रको भ्रमण गरेकी थिइन । सो समय अमेरिकी सीमा अधिकारीहरु र स्थानीय कानून कार्यान्वयन एजेन्सीका अधिकारीहरुसँग गोलमेच बैठक समेत बसेको थियो ।

ती बैठकमा राष्ट्रपति ट्रम्पले चर्को आलोचना गर्न थालेपछि निल्सन बैठक कक्षबाहिर निस्किएकी थिइन् ।  म्याटिसले राजीनामा दिएपछि कार्यवाहक रक्षामन्त्रीको रुपमा प्याट्रिक शाहनानले जिम्मेवारी पाएका छन् ।
एपी