अब पुरुषहरुका लागि पनि गर्भनिरोधक इन्जेक्सन

  • | सोमबार, ३० पुष, २०७५
  • | 6 months ago


एजेन्सी । भारतमा पुरुषहरुका लागि गर्भनिरोधक इन्जेक्सन विकास गरिएको छ ।  इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको नेतृत्वमा ट्रायल पूरा गरेर रिपोर्ट स्वास्थ्य मन्त्रालयमा पठाइएको छ ।

 

चाँडै नै यसको व्यवसायिक प्रयोजनका लागि स्वीकृति मिल्ने अपेक्षा गरिएको छ । हालसम्म पुरुष बन्ध्याकरणका लागि शल्यक्रिया गर्ने गरिएको थियो । तर अब शल्यक्रिया आवश्यक पर्ने छैन । अब एउटा इन्जेक्सनले गर्भनिरोधकको काम गर्नेछ । एकपटक इन्जेक्सन लगाएपछि १३ वर्षसम्म काम गर्ने र सफलता दर ९५ प्रतिशत रहेको जनाइएको छ । काउन्सिलका डा. एस शर्माले १३वर्षसम्म काम गर्ने रेकर्ड रहेको बताए । उनले भने, ‘आशा छ यसले यो भन्दा पनि बढी समय काम गर्नेछ ।’

 

आइआइटी खड्गपुरका वैज्ञानिक डा एस के गुहाले यो इन्जेक्सनमा प्रयोग हुने औषधिको खोजी गरेका थिए । यो एक खालको सिन्थेटिक पोलिमर हो । शल्यक्रियाका क्रममा वीर्य यात्रा गर्ने जुन नसा काटिन्छ, त्यही नसामा यो इन्जेक्सन दिइन्छ । यो इन्जेक्सनको एउटा डोज ६० मिलि हुन्छ ।

 

चिकित्सकका अनुसार इन्जेक्सन दिएपछि नेगेटिभ चार्ज हुन थाल्छ र वीर्य टुक्रिन थाल्छ र गर्भ रहने सम्भावना हुँदैन । यसको प्रयोग पहिले मुसा, पछि खरायो र त्यसपछि अन्य जनावरमा गरिएको थियो । पछिल्लोपटक यसको प्रयोग मानिसमा पनि गरिएको थियो ।