पूर्व आयुक्त पाठक विशेष अदालतमा हाजिर

  • | बुधबार, १ जेष्ठ, २०७६
  • | 2 months ago


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायाण पाठक विशेष अदालतमा हाजिर भएका छन् ।
उनको अहिले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजालमा बयान भइरहेको छ ।
बयानपछि आजै थुनछेक बहस हुने जनाइएको छ ।

 

त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी माग्ने अथवा साधारण तारेखमा छोड्ने आदेश दिनेछ ।
भक्तपुरको इन्जिनियरिङ कलेजको छानबिन रोक्न ७८ लाख घुस लिएका पाठकविरुद्ध १२ चैतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।
पाठकलाई घूस दिने चाँगुनारायण, भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने फरार छन् ।

 

घुसकाण्डमा मुछिएपछि पदबाट राजीनामा दिएका पाठकविरुद्ध अख्तियारले नै अनुसन्धान गरेको थियो । २०७५ चैत १२ गते उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो ।अभियोगपत्रमा पाठकविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारवाही माग गरिएको छ । भ्रष्टाचार निवारण ऐनको दफा ३ मा घुस लिने व्यक्तिलाई बिगो बमोजिम जरिवाना हुने उल्लेख छ ।