पूर्वसरकारी कर्मचारीको सुसाइड नोट‘दुई सय वर्ष बाँच्नू’

  • | सोमबार, २७ साउन, २०७६
  • | 5 days ago


काठमाडौं । मालपोत कार्यालय, कलंकीका तत्कालिन कर्मचारी हरि आचार्यले अख्तियार प्रमुखलाई सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् ।
उनको सुसाइड नोटमा अख्तियार प्रमुखलाई ‘दुई सय वर्ष बाँच्नू’ भनिएको छ ।

 

उदयपुरको त्रियुगा नगरपालिका–१० घर भएका आचार्यको शव आइतबार त्रियुगा नगरपालिका – ९, रातामाटेस्थित शिखरकट्टे भन्ने ठाउँका जंगलमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।

 

शनिबारदेखि हराएका ५५ वर्षीय आचार्यको खल्तीमा २ पेज लामो सुसाइड नोटसमेत फेला परेको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले सुसाइड नोटमा पारिवारीक तनावका कुरा पनि उल्लेख रहेको बताए ।

 

‘मैले सरकारी कर्मचारी हुँदा दुई रुपैयाँ पनि घुस खाएको थिएनँ तर मलाई फसाईयो, अख्तियार प्रमुख ज्यू तपाईँ दुई सय वर्ष बाँच्नुहोला’, आचार्यको सुसाइड नोटमा उल्लेख छ ।

 

सुसाइड नोटमा आचार्यले नेपाल सतिले सरापेको देश रहेको उल्लेख छ ।  उनका अनुसार दुई पानाको सुसाइड नोटमा घरपरिवारलाई पनि विभिन्न खाले सन्देश लेखिएको छ ।

 

अख्तियारले ९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङका नाममा नामसारी गरेको भन्दै नायब सुब्बा आचार्यसहित कलंकी मालपोतका अधिकृत शिवप्रसाद रिमाल, नक्कली जग्गाधनी मीनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, मीनाकुमारी थापाका वारेस दीपेन्द्रविक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेलविरुद्ध गत जेठको दोस्रो साता मुद्दा दायर गरेको थियो ।