पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न निर्देशन

  • | शुक्रबार, ३१ जेष्ठ, २०७६
  • | 1 month ago


काठमाडौं । संसदीय समितिले काठमाडौंको तीनकुनेस्थित बाग्मती नदीमाथिको पुल निर्माणको ठेक्का लिएको पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कारबाही गर्न निर्देशन दिएको छ ।

 

संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकले पुल निर्माणमा गम्भिर त्रुटीहरु भेटिएको निष्कर्ष निकाल्दै कारबाही गर्न सरकारलाई निर्देशन दिएको हो ।


समितिले उपत्यकामा सडक विस्तार आयोजनाको निर्देशन विपरित पुल निर्माण गर्दा गुणस्तरहिन काम गरेको ठहर गरेको छ ।

 

समितिले पुलको पुनः डिजाईन नगरी काम अघि नबढाउन पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समिति सदस्यहरुले ब्यस्त सडकका पुलको निर्माणमा ढिलाई गर्न नहुनेमा जोड दिएका थिए । समितिले सो पुलको स्थलगत निरीक्षण समेत गरेको थियो ।

 

 

त्यसक्रममा उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्रै सो पुलको निर्माण कार्य अघि बढाउनु भनेकोमा सो कम्पनीले त्यस विपरित काम अघि बढाएकाले कारबाही गर्न सिफारिस गरेको हो ।