जन्मको आधारमा नागरिकता पाएकाका सन्तानलाई नागरिकता दिन गृहको परिपत्र

  • | बुधबार, २० चैत, २०७५
  • | 1 year ago


काठमाडौं । गृह मन्त्रालयले जन्मका आधारमा नागरिकता पाएका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन परिपत्र गरेको छ ।

 

गृहले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गर्दै उमेर पुगेका नागरिक नागरिकताबाट वञ्चित हुँदा शैक्षिक तथा अन्य वृत्ति विकासमा समेत समस्या भएको भन्दै नागरिकता दिन परिपत्र गरेको हो ।

 

मन्त्रिस्तरीय निर्णयलाई टेकेर उपसचिव गंगाप्रसाद न्यौपानेले मंगलबार ७७ वटै जिल्लामा परिपत्र प्रेषित गरेका हुन् ।

 

परिपत्रमा भनिएको छ, ‘नेपालको संविधानको धारा ११ को उपधारा ३ को व्यवस्था बमोजिम जन्मको आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा नेपाल नागरिकता ऐन २०६३, नेपाल नागरिकता नियमावली २०६३ र नागरिकता प्रमाणपत्र वितरण कार्य्विधि निर्दे्शिका २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्दा अपनाउनु पर्ने कार्य्विधि प्रक्रिया अपनाइ जे जो बुझ्नुपर्छ बुझी उपयुक्त देखिएमा वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने भनी यस मन्त्रालयबाट मिति २०७५–१२–१९ मा निर्णय भएकोले निर्णयानुसार गर्न हुन अनुरोध गर्दछु ।’