‘पिएम नरेन्द्र मोदी’ प्रदर्शनमा रोक

  • | बुधबार, २७ चैत, २०७५
  • | 2 months ago

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित बायोपिक ‘पिएम नरेन्द्र मोदी’ प्रदर्शनमा रोक लगाइएको छ । बिहिबारदेखि हुन लागेको लोकसभा निर्वाचनमा आदर्श आचार संहिता प्रभावित गर्ने भन्दै रोक लगाइएको समाचार एजेन्सी एएनआइले जनाएको छ ।

 

भारतको निर्वाचन आयोगले बायोपिक ‘पिएक नरेन्द्र मोदी’ प्रदर्शनमा रोक लगाएको हो । मोदीको बायोपिक निर्माण घोषणा भएदेखि नै विवाद उब्जेको थियो ।

 

चुनावमा मोदीको प्रचार हथकण्डाका रुपमा फिल्म निर्माण गरिएको आलोचकहरुले बताउँदै आएका छन् ।
साथै फिल्मको ट्रेलरमा देखाइएका केही दृष्य पनि विवादमा छन् । यस फिल्मलाई रोक लगाउन सर्वोच्च अदालतमा रिट दायर भएको थियो ।
मंगलबार भएको सुनवाईका क्रममा अदालतले अहिलेसम्म फिल्मले सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएको भन्दै यसमा हस्तक्षेप गर्नु हतारो हुने जनाएको छ ।

 

अदालतले भनेको छ, ‘यदि पीएम नरेन्द्र मोदी ११ अप्रिलमा रिलिज भयो भने यसमा के गर्ने भनेर निर्वाचन आयोगले निर्णय गर्नेछ । फिल्मले निर्वाचन आचार संहिता उल्लंघन गरे–नगरेको हेर्ने उसको जिम्मेवारी हो ।’

 

‘पीएम नरेन्द्र मोदी’ को घोषणा गर्न जनवरीमा मात्र भएको थियो । यो फिल्म केवल ३९ दिनमा हतारहतार तयार गरिएको छ ।

एजेन्सी