मिस तामाङ पोखरा हुने, तयारी पूरा

  • | बिहीबार, २ माघ, २०७६
  • | 8 months ago


पोखरा । यहि माघ ४ गते शनिबारदेखि पोखरा सभागृहमा हुने पाँचौँ संस्करणको मिस तामाङ पोखरा हुने भएको छ ।
तयारी सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले हरेक वर्ष सोनाम ल्होसारका अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरालाई यस वर्ष पनि निरन्तरता दिइएको बताए ।

 

उनका अनुसार मञ्जुश्री संवत् २८५६ को अवसरमा आयोजित यो ल्होसार म्युजिक फेस्टिभलको सातौं संस्करण हो भने पाँचौ संस्करणको मिस तामाङ पोखरा गर्न लागिएको हो । प्रतियोगितमा १७ प्रतियोगीले सहभागिता जनाउने उनले बताए ।

सहभागीलाई ४५ दिनको व्यक्तित्व, नेतृत्व, भाषा, कला, संस्कार, इतिहास तथा धर्मका विषयमा प्रशिक्षण गराइएको आयोजकले जनाएको छ । आधुनिकताको नाममा बढ्दो सांस्कृतिक अतिक्रमणको चपेटामा परेको मौलिक भाषा र संस्कृतिको जगेर्नाका लागि कार्यक्रमले टेवा पुग्ने समाजका अध्यक्ष तामाङले बताए । युवा पुस्तामाझ तामाङ संस्कृति हस्तान्तरण र जानकारी वर्तमानको आवश्यकता भएको कुरालाई दृष्टिगत गरी कार्यक्रमको आयोजना गरिएको प्रतियोगिताका संयोजक कविता योञ्जनले जानकारी दिए ।


प्रतियोगिताको विजेतालाई ताज, ट्रफी, प्रमाणपत्र र एक लाख नगदसहित म्युजिक भिडियोको अवसर तथा आकर्षक उपहार प्रदान गरिने छ । त्यस्तै फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र नगद ५० हजार, सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र र नगद ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

भ्युवर्स च्वाइसका रुपमा एक जनाले नगद २० हजार पुरस्कार प्राप्त गर्ने उहाँले जानकारी दिए ।