पाँच स्थानीय तहमा मोबाइल एप्स

  • | आइतबार, १९ फागुन, २०७५
  • | 2 months ago

 

बैतडी । बैतडीका स्थानीय तहले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।

चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडीमा पाँच स्थानीय तहले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ भने बाँकी स्थानीय तह मोबाइल एप्स सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।
मोबाइल एप्स सञ्चालनमा आएको स्थानीय तहमा दोगडाकेदार, पञ्चेश्वर, शिवनाथ र डिलासैनी गाउँपालिका तथा पाटन नगरपालिका छन् । अहिलेसम्म चार गाउँपालिका र एक नगरपालिका गरी पाँच स्थानीय तहले मोबाइल एप्स सञ्चालनमा ल्याएका छन् ।

गाउँ र नगरपालिकामा सञ्चालित मोबाइल एप्सबाट गाउँ र नगरपालिकाका सूचनालगायत सबै क्रियाकपाल हेर्न र पढ्न सकिने दोगडाकेदार गाउँपालिकाका आइटी अफिसर जनकबहादुर विष्टले बताए ।
साथै गाउँ र नगरपालिकाका काम बारे सुझाव, सल्लाह पनि एप्सबाटै दिन सकिनेछ । गाउँ र नगरपालिकाका आ–आफ्ना नामबाट सञ्चालित उक्त एप्सहरु मोबाइलको प्ले स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिने आइटी अफिसर विष्टको भनाइ छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्रममार्फत गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा ल्याइएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए ।
एप्सले नागरिकलाई सहज हुने विश्वास गरिएको छ ।

मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा आएको छैन् । मोबाइल एप्स सञ्चालन गर्न बाँकी रहेका गाउँ र नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन् । मेलौली नगरपालिकाकी उपप्रमुख राधा ओझाले नगरपालिकाको मोबाइल एप्स सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।