लोकसेवाको विज्ञापन स्थगित गर्न राज्य व्यवस्था समितिको निर्देशन

  • | सोमबार, २७ जेष्ठ, २०७६
  • | 2 months ago


काठमाडौं । संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न आह्वान गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।
समितिको सोमबारको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी भर्ना विज्ञापन स्थगित गर्न निर्देशन दिएको हो ।

 

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समितिको बैठकमा संविधानअनुसार नै प्रदेश लोकसेवा आयोग गठन नभएसम्मका लागि लोकसेवा आयोगले कर्मचारी भर्ना गर्न लागेको जानकारी गराएका थिए ।

 

समितिले धारा २२१ मा स्थानीय तहको व्यवस्थापकीय अधिकार, २२६ मा कानुन बनाउने अधिकार र २२७ मा प्रदेश कानुन बमोजिम कर्मचारी व्यवस्थापन हुने र स्थानीय सरकार सञ्चालन ऐनको दफा ८३ मा कर्मचारी समायोजनपछि मात्र संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरेर मात्र संगठन संरचना कायम गर्ने व्यवस्था रहेको स्मरण गर्दै समितिले विज्ञापन रद्द गर्न निर्देशन दिने निर्णय गरेको हो ।

 

समितिले रद्द गर्न तयार पारेको पत्रमा भनेको छ, ‘जेठ १५ गते लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुका लागि प्रकाशन गरेको विज्ञापन संविधानको मर्म र भावनाअनुरुप नदेखिएकाले त्यस विज्ञापन रद्द गर्न संविधानको धारा २९३ अनुसार लोकसेवा आयोगलाई निर्देशन दिने ।’

 

वास्तविक दरबन्दी संख्या यकिन गरेर मात्रै समानुपातिक समावेशी सिद्दान्तका आधारमा कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन समेत समितिले निर्देशन दिएको छ ।