लमजुङको गिलुङमा पर्यटन महोत्सव

  • | बिहीबार, ९ असोज, २०७६
  • | 1 year ago


पोखरा । लमजुङको क्होलोसोथर गाउँपालिका–९ स्थित गिलुङमा पर्यटक महोत्सव हुने भएको छ ।
आगामी कात्तिक २९ र ३० गते ‘गिलुङ पर्यटन महोत्सव २०७६’ हुने भएको हो । महोत्सवबारे बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गिलुङ समाज पोखराका अध्यक्ष दूधमान गुरुङ (आशिष)ले गाउँको पर्यटकीय विकासमा टेवा पु¥याउँदै स्थानीयवासीको आयआर्जन वृद्धि गर्ने, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा गाउँको प्रचारप्रसार गर्ने उद्देश्यसाथले महोत्सव गर्न लागिएको बताए ।

 

महोत्सवका क्रममा स्थानीय परिकारको स्वादका साथै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ ।  गिलुङ नेपालका सुन्दर गाउँमध्येको गिलुङ समुद्री सतहबाट एक हजार ४५० मिटरको उचाइमा रहेको छ ।

 

चार सय घरधुरी रहेको गिलुङ गाउँबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरि, लमजुङलगायतका हिमाली र मनोरम पहाडी दृश्य अवलोकन गर्न सकिन्छ ।,
गाउँका १५ वटा घरमा घरवास कार्यक्रम पनि सञ्चालन गरिएको छ । घरवासमा स्थानीय परिकारको स्वाद लिनसक्ने व्यवस्था मिलाइएको छ ।
गुरुङ संस्कृतिका विविध पक्ष एक साथ अवलोकन गर्न सकिने यस महोत्सवको सफलताका लागि १०१ सदस्यीय मूलआयोजक समिति र पाँच उपसमिति गठन गरिएको समाजका उपाध्यक्ष कुशप्रसाद गुरुङले बताए ।

क्होलासोथर गाउँपालिका–९ का वडाध्यक्ष नन्दजंग गुरुङले महोत्सवको सफलताका लागि वडाका तर्फबाट दुई लाख र गाउँपालिकाका तर्फबाट रु तीन लाख बजेट विनियोजन गरिएको बताए ।

स्थानीय समाजसेवी मुछेत्र गुरुङले पर्यटकीय सम्भावना भएर ओझेलमा परेका कारण यहाँका सम्भावनालाई पर्यटन बजारमा पु¥याउन महोत्सव गर्न लागिएको बताए ।