ललितपुरका मुख्य पाँच सडकमा ‘स्मार्ट’ बत्ती

  • | शनिबार, २८ बैशाख, २०७६
  • | 3 months ago


ललितपुर । ललितपुर महानगरपालिकाले मुख्य पाँच सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने भएको छ ।  यात्रु र सवारीचालकले रातको समयमा समेत सहज रूपमा हिँड्ने वातावरण बनाउन महानगरपालिकाले नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा बत्ती जडान गर्न लागेको हो ।

 

सडकबत्ती जडानले स्थानीयवासीसँगै यहाँ घुम्न आउने विदेशी पर्यटकलाई समेत सुविधा हुने महानगरले अपेक्षा राखेकोा छ ।
चालू आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी गराए ।

 

कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्काे, कुपण्डोलबाट पाटनढोका हुँदै मंगलबजार, एकान्तकुनाबाट बुंगमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको हो ।

 

प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ ।

 

‘स्मार्ट’ बत्ती अरु सडक बत्तीभन्दा फरक रहेको महानगरपालिकाले जनाएको छ ।
यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरु आउँदा आफैँ बल्ने प्रवक्ता महर्जनले बताए ।