कर्णाली प्रदेशका मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश

  • | मंगलबार, २८ साउन, २०७६
  • | 4 days ago


काठमाडौं । उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएको छ । कृषि विकास बैंक रत्नपार्क जाहेरवाला रहेको बैंकिङ कसुर मुद्दामा मन्त्रीकै नाम प्रतिवादी कायम भई आएपछि उनलाई पक्राउ गरी अदालत ल्याउन आदेश दिइएको हो ।
न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले मन्त्री पक्रन आदेश दिएको जनाइएको छ ।

 

मन्त्री खत्री आफैं ठेकेदार हुन् । मन्त्री खत्रीको केएसके नामक कन्स्ट्रक्सन कम्पनी सुर्खेतमा छ । फर्जी बैंक ग्यारेन्टी गर्दा उनी जमानी बसेका थिए । ५५÷५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो ।

 

बैंक ग्यारेन्टीमा ठेकेदार रणवीर तुम्बा र देवजंग शाहीको प्रत्यक्ष संलग्नता थियो । सो मुद्दामा तुम्बा, शाही र बैंकका तत्कालीन शाखा अधिकृत छविलाल ढकाललाई प्रहरीले पक्राउ गरी अदालत पेश गरेको थियो ।

 

प्रहरीले प्रतिवादी कायम गरी पठाइएका मन्त्री खत्री र अर्का राजुप्रसाद श्रेष्ठ उपस्थित नदेखिएपछि यस्तो आदेश जारी भएको प्रवक्ता मोहन सुवेदीले बताएका छन् ।