जाडोमा कसरी जोगिने ?

  • | मंगलबार, ३ पुष, २०७५
  • | 5 months ago


काठमाडौं । पुस लागेसँगै जाडो यामको सुरुवात भइसकेको छ ।  बिहान बेलुका निकै चिसो बढ्न थालिसकेको छ । चिसो बढेसँगै जाडोयाममा देखिने रोगहरू पनि देखिने समय सुरु भएको छ ।
जाडोयाममा बढी बूढा–बूढी र बालबालिकाहरुमा बढी समस्या देखिन्छ ।

 

बालबालिकामा पनि भर्खर शिशुहरूमा धेरै समस्या देखिने सम्भावना रहन्छ । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि यो अप्रिय हुन सक्छ । वरिपरिको चिसो वातावरणका कारण शरिरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ ।

जाडो याममा देखिने समस्या

 

स्वासप्रस्वासको समस्या

 

विशेष गरि यो समस्या ६५ काटेका बूढाबूढीमा देखिन्छ । अझ प्राय गरेर पहिले देखि नै स्वासप्रस्वासको रोग भएका वृद्धवृद्धाका लागि जाडोयाम निकै कष्टकर समय हो । चिसोका कारण थोरै मात्र काम गर्दा पनि दम बढ्छ र यसले अन्य धेरै समस्याहरू पनि निम्त्याउँछ । धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्छ र मुटुको समस्या पनि थपिन सक्छ ।

दम बढ्छः जाडो मौसममा बढी हुने समस्यामध्ये दम पनि एक हो । चिसो र सुख्खा हावाले श्वासनलीलाई साँघुरो पारी श्वास फेर्न कठिनाई उत्पन्न गर्छ । तसर्थ जाडो भयो भनेर घरमा अनावश्यक आगो वा धुवाँ नबाल्नुहोस् ।

रुघाखोकीः जाडो यामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो । रुघाखोकी लाग्नुको मुख्य कारण भाइरल संक्रमण नै हो । भाइरल संक्रमणबाट बच्ने उपाय भनेको रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्ने । उनीहरूलृ प्रयोग गरेको सामान सकेसम्म प्रयोग नगर्ने नै हो ।

घाँटीको समस्याः चिसोमा देखिने अर्को प्रमुख समस्या हो, घाँटीको समस्या । यही मौसममा धेरैलाई घाटीको संक्रमण हुने गर्दछ । यस्ता संक्रमणमध्य धेरैजसो भाइरल इन्फेक्सनका कारण हुने गर्दछ । त्यसबाहेक, तापक्रममा आएको परिवर्तन, चिसो तातो मिसिएको खानेकुरा खाँदा पनि घाँटीलाई असर पार्छ ।

 

हाइपोथर्मिया

शरीरको भित्री तापक्रम ३०० सेल्सियसभन्दा कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया भनिन्छ । शरीरको तापक्रम ३२ डिग्री सेल्सियस पुग्दासम्म शरीरले अनुकूल काम गर्छ तर त्योभन्दा कम भए शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास तथा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि भई शरीर काम्नुको साटो मांशपेशी कडा हुने, निदाउने, शिरा धमनी संकुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ । जब शरीरको तापक्रम २६ डिग्री सेल्सियसभन्दा कम हुन्छ, बिरामी बेहोस् हुन्छ, सुन्निन्छ, आँखाको नानी नचल्ने, जोर्नीहरूमा हुने टेन्डन रिफलेक्स हराएर जान्छ । जब गुदद्वारको तापक्रम २५ डिग्री सेल्सियसभन्दा कम हुन्छ, तब व्यक्तिको मृत्यु हुन्छ ।
बाथ, जोर्नी दुख्नेः जाडो मौसममा जोर्नी दुख्ने समस्या र बाथ रोग पनि धेरैलाई देखिन्छ । हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नीसम्बन्धी समस्या देखा पर्छन् । जाडो महिनामा बाथ रोगका बिरामी पनि धेरै देखिन्छन् ।

एलर्जी

 

जाडो मौसममा छाला सुक्खा हुने समस्या धेरैलाई हुन्छ । चिसोका कारण पानीको मात्रा कम हुँदा छाला सुक्खा हुन्छ । छालाको एलर्जी, छाला चिलाउने, ओठ फुट्नेजस्ता समस्या समस्या चिसो मौसममा देखिने मुख्य समस्या हुन् । छालाको एलर्जीले जटिल समस्यासम्म निम्त्याउन सक्छ ।

पिनास

 

पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ । नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ ।

हृदयाघात

 

जाडोमा हृदयाघातको जोखिम बढी हुनेगर्छ । जाडो मौसममा रक्तचाप उच्च हुन्छ भने यसले नशाहरुमा बढी दख्खल दिन्छ । जसले गर्दा नशा फुट्ने गर्दछ । मुटुमा जमेर बसेको बोसो जाडोमा अझ धेरै जम्ने भएकाले यसले मुटुको नलीमा अवरोध उत्पन्न गरी हृदयाघातको जोखिम बढाउँछ ।

छाला सुख्खा हुने

 

जाडोमा चिसाका कारण देखिने विभिन्न समस्याहरुमध्ये छाला सुख्खा हुने समस्या पनि प्रमुख हो । विशेषगरी वाहिरी वायुको तापक्रम कम हुदै जादाँ सुख्खा वायुका कारण छाला सुख्खा हुने गर्दछ ।

हात खुट्टा चिसो हुने 

 

जाडोमा कयौ मानिसमा हात खुट्टा चिसो हुने वा हात, खुट्टा नतात्ने समस्या हुने गर्दछ । यस्ता समस्या विशेषगरी, रेनाउड प्रकृयाका कारण हुने गर्दछ । रेनाउड यस्तो समस्या हो, जसमा हात, खुट्टा तथा पैतालाको रङ्ग परिवर्तन हुनुका साथै हात, खुट्टामा पिडा हुने गर्दछ । औलाहरु सेतो हुन्छन्, लगत्तै निलो तथा रातो हुँदै, चाउरी पर्ने तथा कडा हुने गर्छन् । सामान्यतया यस्ता समस्या हात तथा खुट्टाको साघुरो नशा च्यापिएर त्यसमा रक्तसञ्चार कम भएर हुने गर्दछ ।

यसरी जोगिनुहोस्


जाडो याममा स्वासप्रस्वासको समयस्यबाट बूढाबूढी र बाल बच्चालाई चिसोबाट जोगाउनु नै सबै भन्दा उत्तम हुन्छ ।
जाडोमा सबैभन्दा बढी छातीसम्बन्धी समस्या देखापर्छ ।

 

यस्तो बेलामा रुघाखोकीले ज्यादा सताउने गर्छ । इन्फ्लुएञ्जाको संक्रमण हुने व्यक्तिले भाइरस अरुमा नसरोस् भनेर निकै ध्यान दिनुपर्ने हुन्छ । हाच्छिउ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका रुमालहरु प्रयोग गर्ने । संक्रमण भएको छ भने मास्क लगाएर हिड्ने । समयमा तातो तरल पदार्थको सेवन निकै हितकर हुन्छ । जाडोयाममा पानी थोरै मात्र पिउने बानी धेरैमा हुन्छ, जुन अस्वस्थकर मानिन्छ ।

 

घाँटीको समस्याबाट जोगिनका लागि मनतातो पानीमा नुन राखेर कुला गरेको खण्डमा यस्ता समस्या सजिलै निको हुन्छ । मनतातो पानीले संक्रमण नहटे पनि घाँटी सुन्नीन दिदैन ।

बाथ, जोर्नी दुख्ने समस्याबाट जोगिनका लागि सक्दो चिसोबाट जोगिनुपर्छ । न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।

 

दम भएको मानिसहरुलाई चिसोको बेलामा अझै ज्यादै समस्या हुन सक्छ । आफूलाई तातो राख्ने, विहानको चिसो बाहिर ननिस्कने । निस्कनै परे घाम लागेपछि निस्कनु उपयुक्त हो । त्यसमा पनि बाक्लो लुगाहरु लगाएर निस्केमा छातीलाई चिसोबाट जोगाउन सकिन्छ ।

 

सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई जाडोमा निमोनियाको जोखिम उच्च हुन्छ । निमोनियाको जोखिम उच्च हुन्छ । वृद्धवृद्धालाई त जोखिम बढी हुन्छ । बालकहरुमा प्रतिरक्षा प्रणाली त्यति विकास भइसकेको हुदैन । बुढ्यौलीमा प्रतिरोधको क्षमता कम हुने भएकाले ६५ वर्षभन्दा बढीको उमेरका व्यक्तिलाई निमोनिया भएमा त्यसले विकराल रुप लिनसक्ने खतरा पनि उत्तिकै रहन्छ । त्यसैले कुनै समस्या हुनासाथ तत्काल अस्पतालमा गएर उपचार गरिहाल्नुपर्छ ।

 

चिसो हावाका कारण संक्रमण हुनसक्ने खतरा हुन्छ । सकेसम्म बसको छतमा यात्रा नगरी भित्र सिटमा नै बस्नु राम्रो हो । उपाय नलागे बालबालिका र चिसोको एलर्जी हुनेहरुले छतमा यात्रा नगर्दा नै हुन्छ । बाक्लो लुगा, माक्स र गलबन्दी लगाएर हिड्दा चिसोबाट बच्न सकिन्छ ।

 

छाला सुख्खा हुने समस्याबाट छुटकारा पाउन मोइस्चराईजर क्रिम दल्नु जरुरी हुन्छ । बजारमा पाइने विभिन्न किसिमका मोइस्चराइजर क्रिमले छाला सुख्खा हुन दिँदैन । मोइस्चराईजर प्रयोग गर्ने सबैभन्दा उत्तम समय नुहाएपछि वा सुत्नुअघि हो ।

 

दम भएको मानिसले आगो ताप्ने कि नताप्ने भन्ने जिज्ञासा धेरै हुन्छ । आगोको ताप ठिक हो, धुवा बेठिक हो । लोडसेडिङ र उर्जा संकटको बेला आगो ताप्नुको विकल्प छैन तर धुवालाई कम गर्ने उपाय अपनाउनुपर्छ र त्यसबाट आफू जोगिनुपर्छ । दाउरा र गोलको तुलनामा बरु ब्रिकेट बढी राम्रो हो । धुवा हराइसकेको आगो, त्यो पनि भेन्टिलेसन भएको कोठामा ताप्दा हुन्छ । नत्र चिसोबाट जोगिन आगो ताप्दा त्यसबाट उत्पन्न हुने कार्वन मोनोअक्साइडले अरु रोग निम्त्याउन सक्छ ।

 

धुँवायुक्त आगोका कारण सामान्य मानिसहरुलाई पनि ज्यानै जोखिममा पार्ने खतरा हुनसक्छ । जाडोका कारण झ्यालढोका थुन्ने, अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ । त्यसले कार्वनमोनोअक्साइड कोठाभरी फैलिदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, सास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ ।