भारतले यस वर्षदेखि आइफोनको उत्पादन शुरू गर्ने

  • | मंगलबार, ३ बैशाख, २०७६
  • | 1 month ago


नयाँ दिल्ली । भारतमा यस वर्षदेखि आइफोनको उत्पादन शुरू हुने भएको छ । ताइवानी प्रविधि कम्पनी फक्सकोन टेक्नोलोजी ग्रूपका अध्यक्ष टेरी गोउले यस वर्षदेखि भारतमा ठूलो परिमाणमा आइफोन उत्पादन हुने बताएका छन् ।

 

एप्पल इंकको सबैभन्दा ठूलो एसेम्बलर फक्सकोनले चीनको उत्पादन भारतमा सार्न लागेको हो । कम्पनीले चीनमा ठूलो परिमाणमा आइफोन उत्पादन गर्दै आएको छ ।

गोउले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई भारतमा आइफोन उत्पादनको लागि निमन्त्रणा दिएको बताएका छन् । भारतको बैंगलुरुमा रहेको प्लान्टबाट केही वर्षदेखि एप्पलका पुराना मोडलका फोनहरू उत्पादन हुँदै आएको छ । तर, अहिले उक्त प्लान्टबाट नयाँ मोडल उत्पादन गर्ने तयारी गरिएको हो ।

 

यसअघि फक्सकोन भारतको चेन्नईमा ठूलो परिमाणमा आइफोन बनाउनुपूर्व परीक्षण उत्पादनका लागि तयार रहेको समाचार सार्वजनिक भएको थियो । ताइवानमा भएको एक कार्यक्रममा गोउले यो निर्णयसँगै भारतको स्मार्टफोन बजारमा आफूहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जानकारी गराए ।
चीनमा स्थानीय प्रतिस्पर्धी कम्पनीका कारण आइफोनको व्यापारमा पछिल्लो समय कमी आएको छ । भारतको स्मार्टफोनको बजार भने बढ्दो क्रममा छ ।

 

भारतको स्मार्टफोन बजारमा आइफोनको अंश निकै कम छ । आइफोन निकै महँगो भएकाले पनि स्मार्टफोनको व्यापारमा आइफोन पछाडि परेको हो । भारतमा ठूलो परिमाणमा आइफोन उत्पादन हुँदा आइफोनको आयातका लागि बुझाउनुपर्ने २० प्रतिशत कर पनि बुझाउन पर्दैन । गतवर्ष भारतमा १४ करोड स्मार्टफोनको व्यापार भएको थियो । यसमध्ये केवल १७ लाख आइफोन विक्री भएको थियो ।
एजेन्सी